
विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । केही बर्ष बिदेशमा बसेपछि नेपाल आएका धनुषाका सञ्जित गिरीलाई कार चढ्ने रहर जागेको छ । काठमाडौं बत्तिस पुतलीमा सञ्चालनमा रहेको अगरवत्ति उत्पादन व्यवसायमा सोचेअनुसार लाभ हुन थालेपछि उनलाई पनि गाडी चढ्ने रहर जागेको हो ।
बुधवारबाट शुरु भएको ‘नाडा अटो शो’ मा भेटिएका गिरीले ‘अल्टो ८००’ कार चढ्ने सोच बनाएका छन । १७ लाख रुपैयाँ मूल्य पर्ने ‘अल्टो ८००’ अटो शोमा पुगेर खरिद गर्ने हो भने उनले एक लाख ३० हजार रुपैयाँ छुट पाउनेछन् । यही कारण उनी मेलामा पहिलो दिन नै पुगे ।
बैंक |
व्याजदर (मेला अवधि) |
व्याज दर अन्य समय |
कर्जा प्रवाह | भुक्तान अवधि | सेवा शुल्क |
---|---|---|---|---|---|
स्ट्याण्डर्ड चार्टर्ड | ७.३९ प्रतिशत | ८० प्रतिशत | पाँच बर्ष | ०.५ प्रतिशत | |
लक्ष्मी बैंक | ७.५ प्रतिशत | ८.५ प्रतिशत | ८० प्रतिशतसम्म | सात बर्ष | ०.५ प्रतिशत |
मेगा बैंक | ७.७५ प्रतिशत | ९.५ प्रतिशत | ८० प्रतिशत | आठ बर्ष | १ प्रतिशत |
किष्ट बैंक | ७.९९ प्रतिशत | १० प्रतिशत | ८०-१०० प्रतिशत | आठ बर्ष | ०.५ प्रतिशत |
सानिमा बैंक | ७.९९ प्रतिशत | ९.५ प्रतिशत | ८० प्रतिशत | सात बर्ष | |
एनआइसी एसिया | ७.९९ प्रतिशत | ९.४९ प्रतिशत | ७०–८० प्रतिशत | छ बर्ष | १ प्रतिशत |
बैंक अफ काठमाण्डु | ८–८.५ प्रतिशत | १३ प्रतिशत | ८० प्रतिशत | आठ बर्ष | १ प्रतिशत |
एनबी बैंक | ८.९९ प्रतिशत | ९.५ प्रतिशत | ८०-९० प्रतिशत | आठ बर्ष | ०.५ प्रतिशत |
माछापुच्र्छे बैंक | ८.९९ प्रतिशत | ८.९९ प्रतिशत | ८० प्रतिशत | सात बर्ष | शुन्य |
छुटपछि हुन आउने रकम पनि सानो (१५ लाख ७० हजार) भने छैन । त्यसैले उनकै सहयोगका लागि मेलामा स्टल राखेर बेसेका बैंकका प्रतिनिधि कहाँ पुगे । कम व्याज दर (७.५ प्रतिशत) तोकेको लक्ष्मी बैंकको स्टलमा कुरा गर्न पुगेका उनी गाडी किन्ने सोच बनाएर निस्किए ।
मध्यमबर्गीय परिवारले पनि कार खरिद गर्ने क्रम बढ्न थालेपछि अटो शोमा स्टल राखेर बसेका नौं वाणिज्य बैंकका स्टलमा पहिलो दिनमै पनि फाटफुट मानिस नाम टिपाउन लागेका देखिन्थे । अटो शो उद्घाटन हुनु अघि नै स्ट्याण्डर्ड चार्टड बैंकमा यसरी नाम टिपाउनेको संख्या करिब २० पुगेको छ ।
मेलामा सहभागी नभएका अन्य बैंकहरुको व्याजदर: | |||||
बैक | व्याजदर | बैक | व्याजदर | बैक | व्याजदर |
एभरेष्ट बैंक | ८ प्रतिशत | सिभिल बैंक | ८.९९ प्रतिशत | सिटिजन्स | ९ प्रतिशत |
हिमालयन बैंक | ८.७५ प्रतिशत | सनराइज | ९ प्रतिशत | ग्लोबल आइएमइ | ९.५ प्रतिशत |
सेञ्चुरी बैंक | ९ प्रतिशत | नेपाल बैंक | ९.५ प्रतिशत | राष्ट्रिय वाणिज्य | १० प्रतिशत |
नबिल | ९ प्रतिशत | प्राइम | १० प्रतिशत | लुम्बिनी | १० प्रतिशत |
कुमारी | १०.५ प्रतिशत | एनसीसी | ११ प्रतिशत | जनता बैंक | ११ प्रतिशत |
सिद्धार्थ | १२ प्रतिशत | एनएमबी | १२ प्रतिशत | कृषि बिकास | १२ प्रतिशत |
नेपाल इनभेष्टमेन्ट | १२ प्रतिशत | ग्राण्ड बैंक | १३ प्रतिशत | एसबीआई | १३.५ प्रतिशत |
सवारी खरिदको लागि बैंकले अन्य समयमा दिने अटो तथा हायर पर्चेज कर्जाको व्याजदरभन्दा मेलाका लागि केही कम व्याजदरमा कर्जा पाइन्छ । मेलामा आफूलाई मन परेको गाडी छान्न र सस्तो व्याजमा लगानी गरिदिने बैंक खोज्न पनि सजिलो हुने भएकोले अवलोकनकर्ताको सहभागिता बढेको देखिन्छ ।
मेलामा अन्य समयमाभन्दा करिब चार प्रतिशतसम्म कम व्याजदरमा बैंकहरुले कर्जाको व्यवस्था गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी बैंकसहित किष्ट बैंक, माछापुच्र्छे बैंक, सानिमा बैंक, मेगा बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डु, नेपाल बैंगलादेश बैंकले स्टल राखेका छन ।
बैंकले मेला अवधिभर त्यहाँ पुगेर कर्जा माग्नेलाई ७.५ प्रतिशतदेखि ८.९९ प्रतिशतसम्म व्याजदर तोकेका छन । सवारीको मूल्यको ७० देखि ८० प्रतिशतसम्म बैंकहरुले कर्जा दिने छन ।
बैंक अनुसार सबै कर्जा भुक्तानी गरिसक्नु पर्ने अवधि पाँचदेखि आठ बर्ष तोकिएको छ । माछापुच्र्छे बैंकले बाहेक अन्य सबैले थप सेवा शुल्क रकम पनि तोकेका छन् । सेवा शुल्क वापत बैंक अनुसार ०.५ देखि एक प्रतिशतसम्म शुल्क तोकिएको छ ।
केही बैंकहरुले कर्जाको लागि आवेदन दिएको तीनदेखि पाँच दिनभित्रमा कर्जा प्रवाह गर्ने र केहीले १० देखि १५ दिन लागाउने बताएका छन । स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने प्यान नम्बर हुने ग्राहकलाई तोकेको व्याजदरमा ०.२५ प्रतिशत थप छुट दिने भएको छ । त्यस्तै, किष्ट बैंकले सवारीकै धितोमा समेत एक सय प्रतिशतसम्म कर्जा प्रवाह गर्ने जानकारी दिएको छ ।
नेपाल बंगलादेश बैंकले पनि मेलामा आएर सवारी कर्जा लिनेले नियमित किस्ता तिरेर ५० प्रतिशत कर्जा भुक्तानी गरेमा व्याजदरमा थप ०.५ प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यस्तै, नियमित राम्रो आम्दानी हुने (स्यालराइज्ड)लाई सवारीको मूल्यको ९० प्रतिशत सम्म कर्जा दिने जानकारी दिएको छ ।
बैंकहरुले नियमित आम्दानीको स्रोत हुने कर्मचारी, व्यवसायी र कर्जा तिर्ने क्षमता भएका हेरेर कर्जा प्रवाह गरिने उल्लेख गरेका छन । त्यस्तै कर्जा लिएको एक बर्ष नपुग्दै सबै रकम बुझाउने लगानीकर्ताले भने बैंकअनुसार एक देखि दुई प्रतिशतसम्म शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
स्ट्याण्र्डर्ड चार्टर्डले यसरी एक बर्ष नपुग्दै कर्जा तिर्ने ग्राहकलाई दुई प्रतिशत शुल्क लाग्ने जानकारी दिएको छ ।