अफसिजन सेल, ब्रान्डेड सामानमा ५० प्रतिशतसम्म छुट

बिजमाण्डू
२०७१ भदौ ७ गते ००:०० | Aug 23, 2014
अफसिजन सेल, ब्रान्डेड सामानमा ५० प्रतिशतसम्म छुट
काठमाडौं। चाडपर्वको समय सुरु हुन लागेसँगै बजारमा स्टक क्लिएरेन्सका लागि भन्दै व्यापारीले छुटको अफर ल्याउन थालेका छन् । पछिल्लो दुई सातायता व्यापारीले सामानमा ५० प्रतिशतसम्म छुट दिन थालेका छन् । व्यापारीहरुले सस्तादेखि ब्राण्डेड तथा महंगा सामानमा पनि भारी छुट दिन थालेको बताएका छन् ।

Tata
GBIME
Nepal Life

ब्राण्डेड सामान पाइने प्रमुख व्यापारिक क्षेत्र दरबारमार्ग र न्यूरोड क्षेत्रमा सञ्चालित अधिकांस पसलले अफ सिजन सेल सुरु गरेका छन् । यो छुट विशेषगरी कपडा, जुत्ता, मोजा, टोपीलगायतका सामानमा उपलब्ध छ । चाडपर्व नजिकिँदै जाँदा पुराना सामानको स्टक क्लिएर गर्नुपर्ने भएकाले छुटको योजना ल्याएको दरबारमार्गमा रहेको रिबोकको विक्री केन्द्रकी सुपरभाइजर मञ्जु महर्जनले बताइन । रिबोकले अहिले ५० प्रतिशत छुटको योजना अघि सारेको छ ।

रिबोकले कपडामा ५० प्रतिशत र जुत्तामा ४० प्रतिशतसम्म छुट दिने उनले जानकारी दिइन् । यस्तै अन्य सामानमा २५ प्रतिशत छुटको व्यवस्था रिबकले गरेको छ । रिबकले अहिले भारत, दुबई, चीन तथा थाइल्याण्डलगायतका सामानको व्यापार गरिरहेको महर्जनले बताइन् ।

यस्तै अर्को ब्रान्डेड सामान विक्रेता जोड्याकले पनि 'वाइ वान गेट वान' योजना ल्याएको छ । नेपालीको मुख्य चाडपर्वहरु नजिकिँदै अएकाले यस्तो योजना ल्याइएको जोड्याकका सेल्स पर्सन प्रतीक पौडेलले बताए । उनका अनुसार सर्ट, पाइन्टजस्ता कपडामा जोड्याकले एउटा किन्दा अर्को सित्तैमा दिइरहेको छ ।

जोन प्लेयर्सका सामान बेच्दै आएको सप्लाइ सोलुसनका सुरेन श्रेष्ठले पनि आफ्ना सामानमा ५० प्रतिशतसम्म छुटको योजना ल्याइएको बताए । चाडपर्वका लागि नयाँ नयाँ उत्पादन ल्याउनुपर्ने भएकाले स्टक क्लिएरेन्सकै लागि छुट दिइएको श्रेष्ठको भनाइ छ ।

विभिन्न देशबाट आयातित सामानको व्यापार गर्दै आएको सिटी वाकले हरेक वर्षजस्तै यो वर्ष पनि छुट योजना ल्याएको छ । सिटी वाकले यो वर्ष ३० देखि ५० प्रतिशतसम्म छुटको अफर ल्याएको म्यानेजर म्यानेजर अनोजजंग थापाले बताए । उनले यो योजना ५० दिनसम्म चल्ने बताए। ग्राहकलाई कम्पनीको अझ नजिक ल्याउने उद्देश्यले अफर ल्याइएको थापाको भनाइ छ।

महिलाका सामानको मात्रै व्यापार गर्दै आएको वेलजोर क्लोथका राज विक्रम श्रेष्ठ पनि दशैंका लागि नयाँ स्टक आउने भएकाले त्यस अघि नै पुराना सक्नका लागि सेल अफर ल्याइएको बताउँछन्। उनका अनुसार नारीहरुको महान चाड तीज नजिकिँदै जाँदा अफरमा सोचे अनुसार व्यापार पनि भइरहेको छ। भारतीय सामानले भरिएको उनको पसलमा तीजका लागि आफ्ना रोजाइका सामान खरिद गर्ने महिलाहरुको संख्या पनि उल्लेख्य नै थियो।

यस्तै दरबारमार्गमै रहेको पुमा शो रुमले पनि सबै सामानमा ४० प्रतिशत तथा केहीमा ५० प्रतिशतसम्म छुटको योजना अघि सारेको छ। पुमा ब्रान्डका मात्रै सामानको व्यापार गर्दै आएको यो शो रुममा एउटै सामान १८ हजार रुपैयाँसम्मका रहेको शोरुम सञ्चालक बताउँछन्। पुमा कम्पनीले नेपाली बजारको चापलाई मूल्यांकन गरेर छुटको योजना ल्याउने गरेको छ।

युवायुवतीको मात्रै नभइ बालबालिकाको मात्रै सामान बेच्ने टिवटी किड्स कलेक्सनले पनि सेल अफर ल्याएको छ। यो अफरमा उसले १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको कलेक्सनकी अनु आचार्य बताउँछिन्। दुईहप्ता अघि सुरु भएको अफर बडा दशैंको घटस्थापनाको दिनसम्म चल्ने उनको भनाइ छ।

बेन्ट्लेको सो सुरमा जुत्ता तथा चप्पलमा ५० प्रतिसतसम्म छुट अफर छ। हरेक वर्ष बेन्ट्ले यही समयमा ५० प्रतिसत छुटमा सामान विक्री गर्दै आएको छ। बेनेटल र बोसिनीले पनि सेल लागु गरेका छन्।