छ महिनामा एनसेलले गर्यो २४ अर्ब रुपैयाँको कारोवार

बिजमाण्डू
२०७१ साउन ३ गते ००:०० | Jul 19, 2014
छ महिनामा एनसेलले गर्यो २४ अर्ब रुपैयाँको कारोवार

प्रभात भट्टरार्इ/बिजमाण्डू
काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सन् २०१४ को पहिलो छ महिनामा २२ दशमलव छ प्रतिशतले आम्दानी बृद्धि गरेको छ । प्यारेन्ट कम्पनी टेलियासोनेराका अनुसार एनसेलले जुन महिनासम्ममा करिब २४ अर्ब रुपैयाँ (एक अर्ब ६८ करोड ३० लाख स्विडिस क्रोनर) आम्दानी गरेको हो ।

यो रकम क्रोनरमा ११.७ प्रतिशतले मात्र बढि भए पनि स्थानीय मुद्रामा २२ प्रतिशत भन्दा बढि रहेको टेलियासोनेराले जनाएको छ । नेपाली मुद्राको तुलनामा क्रोनर मजबुत बन्दै गएको हुँदा नेपाली रुपैयाँ अनुरुपको वृद्धि क्रोनरमा नदेखिएको हो । सन् २०१३ को पहिलो छ महिनामा एनसेलले एक अर्ब ५० करोड ७० लाख क्रोनर कमाएको थियो । २०१४ को पहिलो तीन महिनामा एनसेलले ७८ करोड स्विडिस क्रोनर आम्दानी गरेको थियो ।

Tata
GBIME
Nepal Life

कुल आयमा एनसेलको सञ्चालन खर्च ६४ करोड ४८ लाख क्रोनर छ । ब्याज, कर, ह्रासकट्टि तथा ऋणको किस्ता अघिको कम्पनीको नाफा एक अर्ब तीन करोड ५० लाख क्रोनर (करिब १४ अर्ब ७८ करोड रुपैयाँ) छ । अर्थात सञ्चालन खर्च पश्चात कम्पनीले कुल बिक्रीको ६१ दशमवल चार प्रतिशत रकम बचाउन (मार्जिन) सफल भएको छ । यस्तो मार्जिन गत बर्षको दोस्रो क्वार्टरमा ६० दशमलव ०१ प्रतिशत थियो । यसले एनसेलको व्यवस्थापन चुस्ततालाई पुष्टि गरेको छ ।

टेलियासोनेराका सबै देशका कम्पनीहरुमा सबै भन्दा न्युन सञ्चालन खर्च भएको नेपाल नै रहेको जनाइएको छ । टेलियासोनेरा ग्रुपकै कुल बिक्रीमध्ये ब्याज, कर, ह«ासकट्टि तथा ऋणको किस्ता अघिको आय २०१४ को दोस्रो क्वार्टरमा ३५ दशमलव तीन प्रतिशत छ । नेपालमा स्थिर औषत लागत र मितब्ययी खर्च प्रणालीका कारण यो उपलब्धि हासिल भएको कम्पनीको दाबी छ ।

ग्राहक संख्या बढेकै कारण नेपालको आम्दानी उच्च रुपले बढेको जनाइएको छ । जुनसम्ममा एनसेलका ग्राहक एक करोड १७ लाख ९७ हजार पुगेका छन् । गत वर्षको यहि अवधिमा यो संख्या एक करोड तीन लाख ४७ हजार थियो । पहिलो त्रैमासको अन्त्यदेखि दोस्रो त्रैमाससम्मा छ लाख २८ हजार ग्राहक थपिएको एनसेलले जनाएको छ । गत बर्षको जुनको तुलनामा १४ लाख ५० हजार ग्राहक थपिएका हुन् ।

एनसेलका कुल ग्राहकमध्ये एक करोड १५ लाख ७३ हजारले प्रिपेड सिमकार्ड चलाउँछन् । प्रतिग्राहक मासिक औषत कुराकानी दर एक सय ३८ मिनेट पुगेको जनाइएको छ । पहिलो क्वार्टरमा यो एक सय २७ मिनेट थियो ।

सन् २०१४ को दोस्रो त्रैमासमा युरेसियाका कम्पनीहरुमा सबैभन्दा धेरै ग्राहक संख्या बृद्धि गर्ने पनि एनसेलनै देखिएको छ । यो बर्षको दोस्रो त्रैमास सम्ममा गत बर्षको सोहि अवधिको तुलनामा कजाकस्तानमा रहेको टेलियासोनेराको सब्सिडरी कम्पनीका ग्राहक भने १२ लाखले घटेको जनाइएको छ । निष्कृय सिमकार्ड ‘क्लिनअप’ गर्दा ग्राहक संख्या ओरालो लागेको टेलियासोनेराको भनाइ छ ।

युरेसिया अन्तर्गत टेलियासोनेराले नेपाल, कजाकस्तान, अजरबैजान, उज्वेकिस्तान, ताजकिस्तान, जर्जिया र मोल्डोभाका सहायक कम्पनीलाई राखेको छ । युरोपमा स्विडेन, फिनल्यान्ड, नर्वे, डेनमार्क, लिथुआनिया, आट्भिया, एस्टोनिया र स्पेनमा टेलियासोनेराको सेवा छ ।