पाँच ग्रामिण विकास बैंक मर्जरपछि साना लगानीकर्ताको सेयर गुम्यो, वोर्डमा राष्ट्र बैंककै तीन जना

बिजमाण्डू
२०७१ असार १७ गते ००:०० | Jul 1, 2014
पाँच ग्रामिण विकास बैंक मर्जरपछि साना लगानीकर्ताको सेयर गुम्यो, वोर्डमा राष्ट्र बैंककै तीन जना


काठमाडौं। पाँच ग्रामिण विकास बैंकले आपसमा गाभिने स्वीकृति पाएपछि साना लगानीकर्ताको सेयर हिस्सा गुम्ने देखिएको छ। राष्ट्र बैंकले कम्पनीहरुको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) रिपोर्ट जस्ताको त्यस्तै पारित गरेपछि साना लगानीकर्ताको सेयर स्वामित्व गुम्ने भएको हो।
राष्ट्र बैंककै निर्देशनमा साना लगानीकर्ताहरुलाई सेयर दिलाइएका केही ग्रामिण विकास बैंकको डिडिएमा सेयर संरचना एक प्रतिशत हाराहारीमा गणना गरएपछि ९९ कित्तासम्म सेयर हुनेहरु सम्पति विहिन हुने भएका हुन्।
डिडिए प्रतिवेदन अनुसार, पश्चिमाञ्चलको एक सेयरको मूल्य एक सय ४० रुपैयाँ र मध्यपश्चिमाञ्चलको ७७ रुपैयाँ गणना गरिएको छ। बाँकी तीन संस्थाको एक सय सेयर बराबर १.०२ देखि १.१७ प्रतिशतसम्म गणना गरिएको छ। यसले गर्दा सय सेयर हुनेले मात्र एक कित्ता सेयर पाउँछन्।
पश्चिमाञ्चल ग्रामिण विकास बैंकसँग अन्य चार वटा बैंक गाभिएर राष्ट्रियस्तरको ग्रामिण विकास बैंक बन्ने गरी राष्ट्र बैंकले मर्जर स्वीकृति सोमबार दिएको छ। मर्जरको स्वीकृति पाएसँगै साना लगानीकर्ताको सेयर हराउने भएको हो। मर्जरका लागि सरकारले ३५ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ। 
'राष्ट्र बैंककै निर्देशनमा साधारण जनतालाई सेयर बाँडिएको थियो, अब ती जनतालाई राष्ट्र बैंकले के उत्तर दिन्छ, हामी नै अलमलमा छौं,' राष्ट्र बैंकका एक कर्मचारीले भने, 'स्वीकृति पाउँदैमा मर्जर सफल भयो भन्ने होइन, अब साँच्चैको समस्या सुरु भएको छ।'
मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय कहाँ राख्ने भन्नेमा विवाद छँदैछ सञ्चालक समितिको गठनमा पनि विवाद देखिएको छ। पाँच वटा ग्रामिण विकास बैंकमा रहेका १४ वटा कर्मचारी युनियन र उपल्लो व्यवस्थापन काठमाडौंमा केन्द्रीय कार्यालय राख्नु पर्ने भनिरहेका छन्। तर राष्ट्र बैंक पाँच वटैलाई पायक पर्ने मध्य स्थानमा कार्यालय राख्नु पर्ने पक्षमा छ।
केन्द्रीय कार्यालय राख्ने विषयमा राजनीतिक दलका नेताहरु पनि दवाव दिन थालेका छन्। एमालेका नेता तथा पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे चितवनमा राख्नु पर्ने भन्दै दवाव दिन थालेका छन् भने वालकृष्ण खाँडलगायतका केही नेता अझ पश्चिममा राख्नु पर्ने भन्दै दवाव दिइरहेका छन्। केही नेताहरु काठमाडौंमै राख्नु पर्ने भन्दै राष्ट्र बैंक नेतृत्वलाई दवाव दिइरहेका छन्।
बैंकको प्रस्तावित सञ्चालक समितिमा पनि राष्ट्र बैंकको वाहुल्यता देखिने भएको छ। मर्जर सम्झौता हुँदा सञ्चालक समितिमा पाँच ग्रामिण विकास बैंकबाट एक–एक जना तथा सरकार र राष्ट्र बैंकबाट पनि एक–एक जना पठाउने निर्णय भएको थियो। तर अहिले राष्ट्र बैंकबाटै तीन जना सञ्चालक समितिमा पुगेका छन्।
मध्यपश्चिमाञ्चललाई राष्ट्र बैंकले टेकओभर गरेका कारण त्यहाँबाट राष्ट्र बैंककै प्रतिनिधि छानिएका छन् भने सुदुरमा उसको वढी सेयर भएका कारण राष्ट्र बैंककै कर्मचारी आउने भएका छन्। यस बाहेक राष्ट्र बैंकका लागि एउटा कोटा पहिले नै छुट्याइएको थियो। जबकी मर्जर समितिको संयोजकलाई वोर्डमा पठाउने सहमति विपरित उनलाई हटाइएको छ। मर्जरका संयोजक जगत पोखरेल थिए। उनलाई मर्जरपछि भूमिका नदिने निर्णय भएको छ। 
गत असोजमा पुर्वाञ्चल, मध्यमाञ्चल, मध्य पश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल ग्रामीण विकास बैंकले आपसमा गाभिन औपचारिक सम्झौता गरेका थिए। 

Tata
GBIME
Nepal Life