
काठमाडौं । विदेशी लगानी भित्राएर आर्थिक विकास गर्ने लक्ष्यका साथ नेपाल आर्थिक समिट काठमाडौंमा सुरु भएको छ । बुधबारसम्म चल्ने समिटमा नेपालका प्रतिस्पर्धी उद्योग र व्यवसायका लागि कस्तो लगानी मैत्री वातावरण निर्माण गर्नुपर्छ भन्ने बारेमा लगानीकर्ता, स्वदेशी उद्यमी र सरकारी अधिकारीवीच छलफल हुनेछ ।
‘नेपालमा लगानीमैत्री वातावरण बनाउन कस्तो नीति नियम र प्रोत्साहन आवश्यक पर्छ भन्ने बारेमा विस्तृत छलफल हुनेछ । सम्भावित लगानीकर्ता, नेपाली उद्यमी र सरकारी अधिकारीले विस्तृत छलफल गर्नेछन्, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले भने, ‘यसकै आधारमा उद्योग, बाणिज्य, कृषि र उर्जा सचिवको अध्यक्षतामा गठित समितिले सरकारलाई सुझाव दिनेछ ।’
महासंघका अनुसार, समिटमा विश्वभरमा दुई सय ५० सहभागीको उपस्थिती रहनेछ । यही समिटको आधारमा महासंघले अर्कोपटक सरकारी अधिकारी र लगानीकर्ताबीच सिधा सम्वाद गराउने तयारी गरेको छ । ‘त्यसले कस्तो नीति र प्रोत्साहनले लगानी भित्राउन सकिन्छ भन्ने स्पस्ट हुनेछ ।’
नेपाल सरकारका मन्त्री डा. रामशरण महतले अहिले नेपाली काँग्रेसको नेतृत्वको सरकार बनेकाले लगानी मैत्री वातावरण बनाउन पछि नपर्ने बताए । ‘सन् १९९२ मा पनि नेपाली काँग्रेसकै सरकारले उदारीकरण र खुला बजार नीति ल्याएको हो । त्यसकै कारण मुलुकको आर्थिक विकास आठ प्रतिशतको हाराहारीमा पुगेको थियो । अब फेरी त्यही अवस्थामा मुलुकलाई पु¥याउनु छ,’ उनले भने ।
नेपाल सरकारले जलविद्युत, कृषि र पर्यटनमा वैदेशिक लगानी भित्राउन विशेष जोड दिने उनले बताए । ‘विशाल राष्ट्र भारत र चीनको बीचमा भएकोले हामीले यप् क्षेत्रमा प्रगति गर्न सक्छौ । जलविद्युत र कृषि उपजको त्यहाँ बजार छ । उनीहरुलाई पर्यटकको रुपमा नेपालमा पनि भित्राउन जोड दिनुपर्छ,’ महतले भने ।
नेपालको आर्थिक वृद्धि ७⁄८ प्रतिशत बनाउन तत्काल ६ सय अर्ब लगानी गर्नु पर्ने उल्लेख गर्दै उनले भने, ‘यति धेरै लगानी वैदेशिक लगानी बिना सम्भव छैन । वैदेशिक लगानी नभई नयाँ समृद्ध नेपालको सपना साकार हुदैन ।’
महतकाअनुसार, जलविद्युतको क्षेत्रमा करिव नौ अर्ब अमेरिकी डलरको वैदेशिक लगानीको प्रतिवद्धता आईसकेको छ । आयोजना सुरु हुने वातावरण बनाउनु पर्ने अहिलेको आवश्यकता हो ।
लगानी मैत्री वातावरण बनाएमा ६⁄७ प्रतिशत हासिल गर्न सकिने अर्थ सचिव शान्तराज सुवेदीले बताए । ‘नेपाल अति कम विकसितबाट माथि उठन पनि वैदेशिक लगानी आवश्यक छ,’ उनले भने । नेपाल सरकारले सन् २०२२ मा अतिकम विकसित देशको श्रेणीबाट नेपाललाई विकाशशील राष्ट्र बनाउने घोषणा सरकारले गत वर्ष गरिसकेको छ ।
भारतीय लगानीकर्ता तथा कन्फेडेरेसन अफ इण्डियन इन्डस्ट्रिजका उपाध्यक्ष अजय एस श्रीरामले नेपाल लगानीका लागि उपयुक्त बन्दै गएको बताए । ‘सरकारले विभिन्न क्षेत्रमा लगानी गर्दा हुने फाइदा, सरकारले गर्ने सहयोग र बजारको बारेमा विभिन्न देशमा रोड सो नै गर्नुपर्छ । अस्थिरताबाट बाहिर आउन लागेको नेपालका लागि यो कार्यक्रम लाभदायी हुन्छ,’ उनले भने ।