BIZMANDU
www.bizmandu.com

नेपाल इकोनोमिक समिट सुरु, महतले भने विदेशी लगानीमा सरकार दृढ, फेरी आठ प्रतिशतको वृद्धि

२०७० फागुन १२

नेपाल इकोनोमिक समिट सुरु, महतले भने विदेशी लगानीमा सरकार दृढ, फेरी आठ प्रतिशतको वृद्धि
नेपाल इकोनोमिक समिट सुरु, महतले भने विदेशी लगानीमा सरकार दृढ, फेरी आठ प्रतिशतको वृद्धि

काठमाडौं । विदेशी लगानी भित्राएर आर्थिक विकास गर्ने लक्ष्यका साथ नेपाल आर्थिक समिट काठमाडौंमा सुरु भएको छ । बुधबारसम्म चल्ने समिटमा नेपालका प्रतिस्पर्धी उद्योग र व्यवसायका लागि कस्तो लगानी मैत्री वातावरण निर्माण गर्नुपर्छ भन्ने बारेमा लगानीकर्ता, स्वदेशी उद्यमी र सरकारी अधिकारीवीच छलफल हुनेछ ।

‘नेपालमा लगानीमैत्री वातावरण बनाउन कस्तो नीति नियम र प्रोत्साहन आवश्यक पर्छ भन्ने बारेमा विस्तृत छलफल हुनेछ । सम्भावित लगानीकर्ता, नेपाली उद्यमी र सरकारी अधिकारीले विस्तृत छलफल गर्नेछन्, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले भने, ‘यसकै आधारमा उद्योग, बाणिज्य, कृषि र उर्जा सचिवको अध्यक्षतामा गठित समितिले सरकारलाई सुझाव दिनेछ ।’
महासंघका अनुसार, समिटमा विश्वभरमा दुई सय ५० सहभागीको उपस्थिती रहनेछ । यही समिटको आधारमा महासंघले अर्कोपटक सरकारी अधिकारी र लगानीकर्ताबीच सिधा सम्वाद गराउने तयारी गरेको छ । ‘त्यसले कस्तो नीति र प्रोत्साहनले लगानी भित्राउन सकिन्छ भन्ने स्पस्ट हुनेछ ।’
नेपाल सरकारका मन्त्री डा. रामशरण महतले अहिले नेपाली काँग्रेसको नेतृत्वको सरकार बनेकाले लगानी मैत्री वातावरण बनाउन पछि नपर्ने बताए । ‘सन् १९९२ मा पनि नेपाली काँग्रेसकै सरकारले उदारीकरण र खुला बजार नीति ल्याएको हो । त्यसकै कारण मुलुकको आर्थिक विकास आठ प्रतिशतको हाराहारीमा पुगेको थियो । अब फेरी त्यही अवस्थामा मुलुकलाई पु¥याउनु छ,’ उनले भने ।
नेपाल सरकारले जलविद्युत, कृषि र पर्यटनमा वैदेशिक लगानी भित्राउन विशेष जोड दिने उनले बताए । ‘विशाल राष्ट्र भारत र चीनको बीचमा भएकोले हामीले यप् क्षेत्रमा प्रगति गर्न सक्छौ । जलविद्युत र कृषि उपजको त्यहाँ बजार छ । उनीहरुलाई पर्यटकको रुपमा नेपालमा पनि भित्राउन जोड दिनुपर्छ,’ महतले भने ।
नेपालको आर्थिक वृद्धि ७⁄८ प्रतिशत बनाउन तत्काल ६ सय अर्ब लगानी गर्नु पर्ने उल्लेख गर्दै उनले भने, ‘यति धेरै लगानी वैदेशिक लगानी बिना सम्भव छैन । वैदेशिक लगानी नभई नयाँ समृद्ध नेपालको सपना साकार हुदैन ।’  
महतकाअनुसार, जलविद्युतको क्षेत्रमा करिव नौ अर्ब अमेरिकी डलरको वैदेशिक लगानीको प्रतिवद्धता आईसकेको छ । आयोजना सुरु हुने वातावरण बनाउनु पर्ने अहिलेको आवश्यकता हो ।
लगानी मैत्री वातावरण बनाएमा  ६⁄७ प्रतिशत हासिल गर्न सकिने अर्थ सचिव शान्तराज सुवेदीले बताए । ‘नेपाल अति कम विकसितबाट माथि उठन पनि वैदेशिक लगानी आवश्यक छ,’ उनले भने । नेपाल सरकारले सन् २०२२ मा अतिकम विकसित देशको श्रेणीबाट नेपाललाई विकाशशील राष्ट्र बनाउने घोषणा सरकारले गत वर्ष गरिसकेको छ ।
भारतीय लगानीकर्ता तथा कन्फेडेरेसन अफ इण्डियन इन्डस्ट्रिजका उपाध्यक्ष अजय एस श्रीरामले नेपाल लगानीका लागि उपयुक्त बन्दै गएको बताए । ‘सरकारले विभिन्न क्षेत्रमा लगानी गर्दा हुने फाइदा, सरकारले गर्ने सहयोग र बजारको बारेमा विभिन्न देशमा रोड सो नै गर्नुपर्छ । अस्थिरताबाट बाहिर आउन लागेको नेपालका लागि यो कार्यक्रम लाभदायी हुन्छ,’ उनले भने ।

Tata
GBIME
Nepal Life