काठमाडौं । कर्मचारी सञ्चय कोषले सम्झौता अनुसार भाडा नबुझाएको भन्दै सुन्धारस्थित काठमाडौं मल बन्द गर्ने चेतावनी दिएको छ । कोषसँग सम्झौता गरेका प्रवीरशम्सेर जबरालाई पटक/ पटक भाडा तिर्न ताकेता गर्दा पनि नआएपछि काठमाडौ मल बन्द गर्ने चेतावनी कोषले दिएको हो ।
कोषलेसार्वजनिक सूचना जारी गर्दै साउन मसान्तसम्म भाडा नतिरेमा काठमाडौ मल बन्द गर्न बाध्य हुने जनाएको छ । कोषले ०६२ साल भदौ १ गते करार सम्झौता गरी १५ वर्षका लागि जबरालाई यो मल जिम्मा लगाएको थियो ।
कोषले साउन मसान्तसम्म एक वर्षको भाडा रकम ‘क’ वर्गको वाणिज्य बैकबाट जमानतको ग्यारेन्टी पेस नगरेमा करार सम्झौता रद्ध हुने जनाकारी दिएको छ ।
हामीले एक वर्षको भाडा वापतको रकम जमानतको ग्यारेन्टी बुझाउनुपर्ने भाडावाल जबरालाई जानकारी गराइसकेका छौ,’ कोषद्वारा जारी सूचनामा भनिएको छ, साउन मसान्तसम्म रकम नबुझाएमा सम्झौता स्वतः रद्ध हुनेछ ।
कोषले करार रद्ध भएर अर्को करार सम्झौता नभएसम्मको लागि काठमाडौं मल बन्द हुने जानकारी दिएको छ । प्रवीर शम्सेरसँग भएको सम्झौता रद्ध भएपछि मलमा पसलकवल गरिरहेका सबैको सम्झौता रद्ध हुने जानकारी दिंदै सबै पसललाई हटाइने जानकारी पनि कोषले दिएको छ ।