काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार केन्द्र(आइटीसी)ले नेपालको पश्मिना प्रवद्र्धनको लागि नेपाल पश्मिना उद्योग संघलाई १२ करोड ३२ लाख(१४ लाख डलर) सहयोग दिने भएको छ । नेपाल भ्रमणमा रहेका आइटीसीका अधिकारीहरुले शुक्रवार औपचारिक रुपमा यो सहयोग दिने घोषणा गरेका हुन् । केन्द्रले गरेको सहयोग पश्मिनाको बजार प्रवद्र्धन र पश्मिनाको ट्रेडमार्कको प्रचार प्रसार गर्न उपयोग गर्नुपर्नेछ ।
संघले नेपालको पश्मिनालाई विश्वबजारमा चिनाउन च्याङग्रा पश्मिनाको ट्रेडमार्क दर्ता गरेर विश्व बजारमा पठाउन थालेको छ । यो रकमबाट संघको क्षमतावृद्धिमा पनि प्रयोग गर्न पाउनेछ । केन्द्रले पश्मिनालाई आवश्यक पर्ने कच्चा पदार्थ(रुही)का लागि भेंडापालनमा समेत सघाउने भएको छ ।<br /> वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भेंडापालन र रुही उत्पादन गर्ने प्रशोधन उद्योग स्थापना गर्न समेत केन्द्रले सघाउने भएको हो । हामीले अत्यन्तै कठिन मोडमा आएको यो महत्वपूर्ण सहयोग हो । यसले नेपाली पश्मिनालाई विश्वबजारमा स्थापित गराउन ठूलो भूमिका खेल्नेछ, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।<br /> विश्व व्यापार संगठन र संयुक्त राष्ट्रसंघले संयुक्त रुपमा यो सहयोग दिने घोषणा गरेका हुन् । सन् २०००÷२००१ मा आठ अर्ब बराबरको पश्मिना विश्वबजारमा निकासी भएको थियो भने अहिले घटेर १ अर्ब ६१ करोडको हाराहारीमा खुम्चिएको छ । नेपाली पश्मिना भन्दै भारत र चीनबाट ल्याएर पठाउँदा अन्तर्राष्ट्रिय साख घटेको थियो । अन्तर्राष्ट्रिय साख घटेपछि संघले तीन वर्षअघि च्याङग्रा पश्मिनाको ब्रान्ड स्थापना गरेर निकासी बढाउने पहल गरिरहेको छ ।<br />