काठमाडौं। झापा र इलामको सीमा क्षेत्रस्थित जंगलबाट सशस्त्र प्रहरीले करिब साढे १९ टन फर्सीको बियाँ बरामद गरेको छ। मेची नगरपालिका-१ स्थित भालुखोपको जंगलबाट प्रहरीले १९ हजार ४०० किलोग्राम फर्सीको बियाँ बरामद गरेको हो।
सशस्त्र प्रहरीले शनिबार विशेष सूचनाका आधारमा उक्त परिमाणको फर्सीको बियाँ फेला पारेको हो। ४८५ बोरामा राखिएको बियाँ जंगल क्षेत्रमा बेवारिसे अवस्थामा लुकाएर राखिएको थियो।
सशस्त्र प्रहरी बल नम्बर २ गण झापाबाट सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यको कमान्डमा खटिएको टोलीले बरामद गरेको हो। उक्त टोलीले घटनास्थलबाट दुई थान मोबाइलसमेत फेला पारेको छ।
बरामद गरिएको फर्सीको बियाँ र मोबाइल आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।










