हाम्रो बैंकिङ क्षेत्रमा कर्जा विस्तारसँगै ऋणीको समग्र वित्तीय अवस्था, वास्तविक नगद प्रवाह र कुल कर्जा दायित्वको प्रभावकारी अनुगमन चुनौतीपूर्ण बन्दै गएको छ। विशेषगरी, एउटै ऋणीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा तथा अन्य वित्तीय सुविधा लिने तर आफ्नो व्यावसायिक आम्दानी, बिक्री, भुक्तानी र अन्य कारोबार कर्जा लिएको बैंकभन्दा फरक बैंकमा रहेका खातामार्फत सञ्चालन गर्ने प्रवृत्तिले कर्जादातालाई ऋणीको वास्तविक वित्तीय अवस्थाको समग्र चित्र प्राप्त गर्न कठिन बनाएको छ।
यसले कर्जाको वास्तविक आवश्यकता र भुक्तानी क्षमता मूल्यांकनमा समस्या सिर्जना गर्नुका साथै कर्जाको प्रयोजनविपरीत उपयोग, कृत्रिम कारोबार, अत्यधिक ऋणभार, धितोको दोहोरो उपयोग र बैंकहरूबीच जोखिमको असमान वितरणजस्ता समस्या निम्त्याउन सक्छ।
वास्तवमा, बहुबैंकिङ कारोबार आफैंमा अस्वस्थ अभ्यास होइन। व्यवसायको आकार, कारोबारको प्रकृति, सेवा तथा भौगोलिक पहुँच र वित्तीय आवश्यकताका आधारमा एउटै व्यवसायले एकभन्दा बढी बैंकसँग कारोबार गर्नु स्वाभाविक र कतिपय अवस्थामा आवश्यक पनि हुन्छ। समस्या बहुबैंकिङ कारोबारमा भन्दा त्यसको समग्र अनुगमन, सूचना आदानप्रदान र नगद प्रवाहको पारदर्शितामा छ।
त्यसैले बहुबैंकिङ कारोबारलाई पूर्ण रूपमा निषेध गर्नुभन्दा ऋणीको कुल कर्जा एक्सपोजरका आधारमा मुख्य कारोबार बैंक तोक्ने, अन्य बैंकका खातालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र समग्र कारोबारलाई एकीकृत रूपमा अनुगमन गर्ने प्रणाली विकास गर्नु व्यावहारिक र प्रभावकारी उपाय हुन सक्छ।
यसका लागि ऋणीको व्यावसायिक आम्दानी तथा भुक्तानीलाई एउटा तोकिएको मुख्य कारोबार खातामार्फत व्यवस्थित गर्ने अवधारणा महत्त्वपूर्ण हुन्छ। यस्तो व्यवस्थाले ऋणीको वास्तविक कारोबार, नगद प्रवाह, कर्जा उपयोग र भुक्तानी क्षमताबीचको सम्बन्ध स्पष्ट पार्छ। साथै, बैंकहरूलाई व्यक्तिगत कर्जा सम्बन्धको सीमाभन्दा माथि उठेर ऋणीको समग्र वित्तीय जोखिम मूल्यांकन गर्न सहयोग पुर्याउँछ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्थाले बैंकिङ कारोबारमा पारदर्शिता, कर्जाको सदुपयोग, ग्राहक पहिचान र जोखिम व्यवस्थापनलाई महत्त्व दिएका छन्।
विशेषगरी, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनले ऋणीको वास्तविक चालू पुँजी आवश्यकता पहिचान, कर्जा सीमाको यथार्थपरक निर्धारण र प्रवाहित कर्जाको सदुपयोग सुनिश्चित गर्न जोड दिएको छ। तर यी नियामकीय उद्देश्य प्रभावकारी रूपमा हासिल गर्न कर्जा प्रवाह र उपयोगको अनुगमनसँगै ऋणीको समग्र बैंकिङ कारोबारको दृश्यता पनि आवश्यक हुन्छ। कुनै एक बैंकले ऋणीलाई दिएको कर्जाको सदुपयोग अनुगमन गर्दा उसले अन्य बैंकबाट लिएको कर्जा, अन्य खातामा प्राप्त गरेको व्यावसायिक आम्दानी र समग्र भुक्तानी दायित्वसमेत विचार गर्न सके मात्र जोखिमको यथार्थ मूल्यांकन सम्भव हुन्छ।
यसका लागि विद्यमान नियामकीय व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै ऋणीको कुल कर्जा एक्सपोजरको एकीकृत अभिलेख, अन्तरबैंक सूचना आदानप्रदान, कर्जा सूचना प्रणालीको विस्तार र डिजिटल कारोबार विश्लेषण गर्ने क्षमतामा सुधार आवश्यक छ। यसले बैंकहरूलाई अपूर्ण वा एकपक्षीय सूचनाका आधारमा कर्जा निर्णय गर्नुपर्ने अवस्थाबाट मुक्त गर्न सक्छ।
बहुबैंकिङ कारोबारलाई व्यवस्थित गर्ने सन्दर्भमा भारतको नियामकीय अभ्यास नेपालको लागि उपयोगी हुन सक्छ। भारतीय रिजर्भ बैंकले सन् २०२० मा बैंकहरूले चालू खाता खोल्ने सम्बन्धमा अनुशासन कायम गर्न निर्देशन जारी गरेको थियो। बैंक तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा सन् २०२१ मा उक्त व्यवस्था परिमार्जन गरी १९ अप्रिल २०२२ मा एकीकृत परिपत्र जारी गरिएको थियो।

यस व्यवस्थाको मुख्य उद्देश्य ऋणीको कारोबार विभिन्न बैंकमा अनियन्त्रित रूपमा विभाजित हुन नदिनु, कर्जा अनुशासन कायम गर्नु र कर्जादाता बैंकहरूलाई ऋणीको नगद प्रवाह प्रभावकारी रूपमा अनुगमन गर्न सक्षम बनाउनु हो। यसका प्रमुख व्यवस्था निम्न छन् :
भारतीय रुपैयाँ ५ करोडभन्दा कम कुल कर्जा एक्सपोजर भएका ऋणी : बैंकहरूले त्यस्ता ऋणीको चालू खाता खोल्न सक्छन्। तर कुल कर्जा एक्सपोजर उक्त सीमामा पुगेमा सम्बन्धित बैंकलाई जानकारी गराउने प्रतिबद्धता ऋणीबाट लिनुपर्ने व्यवस्था छ।
भारु ५ करोड वा सोभन्दा बढी कुल कर्जा एक्सपोजर तथा नगद साख वा अधिविकर्ष सुविधा भएका ऋणी : ऋणीले नगद साख वा अधिविकर्ष सुविधा लिएका बैंकमध्ये कम्तीमा १० प्रतिशत कर्जा एक्सपोजर भएको कुनै एक बैंकमा मुख्य चालू खाता सञ्चालन गर्न सक्छ। कुनै पनि कर्जादाता बैंकको हिस्सा १० प्रतिशत नपुगेमा सबैभन्दा बढी कर्जा एक्सपोजर भएको बैंकले यस्तो खाता सञ्चालन गर्न सक्छ।
अन्य कर्जादाता बैंकको भूमिका : अन्य कर्जादाता बैंकले संकलन खाता मात्र सञ्चालन गर्न सक्छन्। त्यस्ता खातामा प्राप्त रकम दुई कार्यदिनभित्र मुख्य नगद साख वा अधिविकर्ष खातामा रकमान्तर गर्नुपर्छ। संकलित मौज्दातलाई सम्बन्धित बैंकको कर्जा भुक्तानी वा थप कर्जा सुविधाका लागि धितो तथा मार्जिनका रूपमा प्रयोग गर्न पाइँदैन।
नगद साख वा अधिविकर्ष सुविधा नलिएका तर ठूलो कर्जा एक्सपोजर भएका ऋणी : भारतीय रुपैयाँ ५० करोड वा सोभन्दा बढी कुल कर्जा एक्सपोजर भएका ऋणीका लागि एस्क्रो प्रणाली अनिवार्य गरिएको छ। ऋणीले कुनै एक कर्जादाता बैंकलाई एस्क्रो व्यवस्थापक बैंकका रूपमा छनोट गर्न सक्छ। यसमा सबै कर्जादाता बैंक एस्क्रो सम्झौतामा सहभागी हुनुपर्छ र मुख्य चालू खाता एस्क्रो व्यवस्थापक बैंकमा मात्र सञ्चालन गर्न सकिन्छ।
नियमित अनुगमन : बैंकहरूले ऋणीको समग्र कर्जा एक्सपोजर र सम्बन्धित बैंकको कर्जा हिस्साको नियमित अनुगमन गर्नुपर्छ।
भारतको यस व्यवस्थाको विशेषता बहुबैंकिङ कारोबार पूर्ण रूपमा बन्द गर्नु नभई त्यसको प्रवाह व्यवस्थित गर्नु हो। यसले एउटा बैंकलाई मात्र नभई समग्र कर्जादाता बैंकलाई ऋणीको वित्तीय गतिविधि अनुगमन गर्ने साझा आधार प्रदान गर्छ। यसरी ऋणीको व्यावसायिक स्वतन्त्रता कायम राख्दै बैंकिङ प्रणालीमा कर्जा अनुशासन र पारदर्शिता अभिवृद्धि गर्न सकिन्छ।
चीनको बैंकिङ प्रणालीले पनि आधारभूत कारोबार खाता र एकीकृत कर्जा व्यवस्थापनमार्फत वित्तीय पारदर्शिता तथा जोखिम नियन्त्रणलाई संस्थागत गरेको छ। चीनको वाणिज्य बैंकसम्बन्धी कानुनको धारा ४८ अनुसार कुनै पनि उद्यम वा संस्थाले दैनिक रकम स्थानान्तरण, हिसाब मिलान तथा नगद प्राप्ति र भुक्तानीका लागि आफूले छनोट गरेको वाणिज्य बैंकमा एउटा आधारभूत खाता खोल्न सक्छ। तर एकभन्दा बढी आधारभूत खाता खोल्न पाइँदैन।
त्यसैगरी, चीनको राष्ट्रिय वित्तीय नियमन प्रशासनले सन् २०२४ मा जारी गरेको चालू पुँजी कर्जासम्बन्धी प्रशासनिक व्यवस्थाले कर्जा व्यवस्थापनमा थप स्पष्टता ल्याएको छ। यसअनुसार बैंकले ऋणी तथा ऋणी आबद्ध समूहलाई प्रदान गर्ने चालू पुँजी कर्जालाई एकीकृत कर्जा व्यवस्थापनअन्तर्गत समेट्नुपर्छ र जोखिम व्यवस्थापनको आवश्यकताअनुसार कर्जा जोखिम सीमा निर्धारण गर्नुपर्छ। यसले एउटै व्यावसायिक समूहका विभिन्न संस्थामार्फत सिर्जना हुन सक्ने कर्जा जोखिमलाई समग्र रूपमा मूल्यांकन गर्न सहयोग पुर्याउँछ।
यस व्यवस्थाले वास्तविक चालू पुँजी आवश्यकता निर्धारण, कर्जाको प्रयोजन स्पष्ट गर्ने, कर्जा उपयोगको अनुगमन गर्ने र कर्जाको रकम फिर्ता हुने प्रवाहमाथि प्रभावकारी नियन्त्रण कायम गर्ने विषयलाई पनि जोड दिएको छ। चीनको अभ्यासमा आधारभूत कारोबार खाता र एकीकृत कर्जा व्यवस्थापन फरक नियामकीय व्यवस्था भए पनि दुवैले वित्तीय पारदर्शिता र जोखिम नियन्त्रणको साझा उद्देश्य पूरा गर्न सहयोग गर्छन्। नेपालको सन्दर्भमा पनि यी अभ्यासबाट सिक्दै कारोबारको पारदर्शिता र कर्जा जोखिमको एकीकृत मूल्यांकनलाई संस्थागत गर्न सकिन्छ।

भारत र चीनका अभ्यासलाई नेपालको बैंकिङ संरचना, व्यवसायको प्रकृति, डिजिटल भुक्तानी प्रणालीको विकास र विद्यमान नियामकीय क्षमताअनुसार अनुकूलन गर्न आवश्यक छ। विदेशी व्यवस्थाको हुबहु नक्कल गर्नुभन्दा नेपालको बैंकिङ प्रणालीमा देखिएका जोखिम र व्यावहारिक आवश्यकताका आधारमा चरणबद्ध सुधार गर्नु उपयुक्त हुन्छ। यसका लागि निम्न नीतिगत उपाय अवलम्बन गर्न सकिन्छ –
कर्जा एक्सपोजरमा आधारित मुख्य कारोबार बैंकको व्यवस्था : निश्चित सीमाभन्दा माथि कुल कर्जा एक्सपोजर भएका ऋणीका लागि एउटा मुख्य कारोबार बैंक तोक्नुपर्छ। यस्तो बैंकले ऋणीको मुख्य नगद प्रवाह, कारोबार तथा कर्जा भुक्तानीको अनुगमन गर्ने केन्द्रीय संस्थाका रूपमा काम गर्न सक्छ।
अन्य बैंकमा संकलन खाता सञ्चालन : ऋणीलाई व्यावसायिक आवश्यकताअनुसार अन्य बैंकमा संकलन खाता सञ्चालन गर्न अनुमति दिन सकिन्छ। तर त्यस्ता खातामा प्राप्त रकम निश्चित समयभित्र मुख्य कारोबार खातामा रकमान्तर गर्नुपर्ने व्यवस्था गर्नुपर्छ। यसले व्यावसायिक कारोबारमा सहजता कायम राख्दै नगद प्रवाहको केन्द्रीकृत अनुगमन सम्भव बनाउँछ।
एकीकृत डिजिटल कर्जा तथा कारोबार सूचना प्रणाली : ऋणीको कुल कर्जा एक्सपोजर, स्वीकृत कर्जा सीमा, उपयोग भएको कर्जा, भुक्तानी दायित्व र कारोबारसम्बन्धी आवश्यक विवरण बैंकहरूबीच सुरक्षित डिजिटल माध्यमबाट आदानप्रदान गर्ने प्रणाली विकास गर्नुपर्छ। यसका लागि कर्जा सूचना केन्द्रको विद्यमान संरचनालाई थप सुदृढ बनाउन सकिन्छ।
कर्जा उपयोग र वास्तविक कारोबारबीच नियमित परीक्षण : ऋणीको बैंकिङ कारोबार, बिक्री आम्दानी, खरिद, सञ्चालन खर्च र कर्जा उपयोगबीचको सम्बन्ध नियमित रूपमा विश्लेषण गर्नुपर्छ। अस्वाभाविक कारोबार, रकमको अनावश्यक आवागमन तथा कर्जाको सम्भावित दुरुपयोग पहिचान गर्न जोखिममा आधारित अनुगमन प्रणाली आवश्यक हुन्छ।
समग्र कर्जा भार र धितोको दोहोरो उपयोग नियन्त्रण : विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएका कर्जाको एकीकृत विवरणका आधारमा ऋणीको कुल ऋणभार मूल्यांकन गर्नुपर्छ। हाइपोथिकेसन लगायतका धितोको दोहोरो प्रयोग, एउटै सम्पत्तिमा सिर्जना भएका दाबी र कर्जा सीमाको दोहोरो गणना हुन नदिन बैंकहरूबीच सूचना आदानप्रदान तथा समन्वय सुदृढ गर्नुपर्छ।
जोखिममा आधारित चरणबद्ध कार्यान्वयन : सबै ऋणीलाई एउटै नियम लागू गर्नु व्यावहारिक नहुन सक्छ। त्यसैले कुल कर्जा एक्सपोजर, व्यवसायको आकार, कारोबारको प्रकृति र जोखिमको स्तरका आधारमा फरक-फरक व्यवस्था लागू गर्न सकिन्छ। यस क्रममा साना तथा मझौला उद्यमलाई अनावश्यक प्रशासनिक भार नपर्ने गरी सहजीकरण गर्नुपर्छ।
सूचना गोपनीयता र स्पष्ट जवाफदेहिता : बैंकहरूबीच ऋणीको वित्तीय सूचना आदानप्रदान गर्दा प्रचलित कानुन, गोपनीयता र ग्राहकको अधिकारको पूर्ण पालना हुनुपर्छ। कुन सूचना कसले, कुन प्रयोजनका लागि र कति समयसम्म प्रयोग गर्न पाउने भन्ने स्पष्ट व्यवस्था आवश्यक छ। साथै, मुख्य कारोबार बैंक तथा अन्य कर्जादाता बैंकको भूमिका र जिम्मेवारी पनि स्पष्ट रूपमा निर्धारण गर्नुपर्छ।
मुलुकको बैंकिङ क्षेत्रलाई सुरक्षित, पारदर्शी र जोखिमप्रतिरोधी बनाउने हो भने कर्जा प्रवाहको परिमाणसँगै ऋणीको वास्तविक वित्तीय गतिविधि, नगद प्रवाह र समग्र कर्जा दायित्वको प्रभावकारी अनुगमनलाई समान प्राथमिकता दिनुपर्ने समय आएको छ। कर्जा विस्तारले आर्थिक गतिविधिलाई गति दिन सक्छ, तर त्यसको उचित उपयोग, पारदर्शी कारोबार र दिगो भुक्तानी क्षमता सुनिश्चित हुन सकेन भने त्यही विस्तार भविष्यमा बैंकिङ प्रणालीको जोखिमको स्रोत बन्न सक्छ।
नेपाल राष्ट्र बैंकको विद्यमान नियामकीय व्यवस्था, भारतको कर्जा एक्सपोजरमा आधारित चालू खाता सञ्चालन प्रणाली र चीनको आधारभूत कारोबार खाता तथा एकीकृत कर्जा व्यवस्थापनको अभ्यासबाट प्राप्त सिकाइलाई नेपालको सन्दर्भअनुसार प्रोत्साहन र सजायसहितको स्पष्ट नीतिगत खाकामा रूपान्तरण गर्न सकिन्छ। यसका लागि नियामक निकायको स्पष्ट नीतिगत नेतृत्व, बैंक तथा वित्तीय संस्थाबीच प्रभावकारी समन्वय, डिजिटल सूचना आदानप्रदान र ऋणीको व्यावसायिक आवश्यकतालाई सम्बोधन गर्ने लचिलो कार्यान्वयन ढाँचा आवश्यक हुन्छ।
अन्ततः बहुबैंकिङ कारोबारलाई व्यवस्थित गर्ने उद्देश्य व्यवसायको वित्तीय स्वतन्त्रता सीमित गर्नु होइन, त्यसबाट सिर्जना हुन सक्ने जोखिमलाई पारदर्शी र व्यवस्थित बनाउनु हो। आगामी मौद्रिक नीतिको समीक्षामार्फत यससम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन सके त्यसको प्रभावकारिता अझ बढ्न सक्छ। त्यसैले निश्चित कर्जा सीमाभन्दा माथिका ऋणीका लागि मुख्य कारोबार बैंक, अन्य बैंकमा संकलन खाता र समग्र कर्जा एक्सपोजरको एकीकृत अनुगमन प्रणाली विकास गर्नु नेपालको बैंकिङ क्षेत्रका लागि समयसापेक्ष नीतिगत सुधार हुनेछ। किनकि स्वस्थ बैंकिङ प्रणालीको आधार कर्जा प्रवाहको विस्तार मात्र होइन, प्रवाहित कर्जाको पारदर्शी उपयोग, यथार्थपरक जोखिम मूल्यांकन र दिगो असुली सुनिश्चित गर्ने संस्थागत क्षमता पनि हो।
(उल्लेखित विचार लेखकको निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्)









