बिहारका जनता दल युनाइटेड (जेडीयू) का नेता अनन्त सिंह यतिबेला छोरीको विवाहका कारण चर्चामा छन्। पटना जिल्लाको नदवानस्थित उनको पुर्ख्यौली गाउँमा नोभेम्बर २५ मा भएको विवाह समारोहमा लाखौँ पाहुनालाई भोज खुवाइएको थियो। त्यस्तै घोडा दौडको विजेतालाई महिन्द्रा थार उपहार दिने घोषणा गरिएकोले भारतीय सञ्चारमाध्यममा यो विवाहले राम्रो कभरेज पायो
सिंहकी कान्छी छोरी शिवांगी सिंहको विवाह ऋषिकेश कुमारसँग भएको हो। विवाह समारोहमा करिब ५० लाख गुलाबजामुन र ३० लाख रसगुल्ला तयार गरिएको समाचारमा उल्लेख छ। पाहुनाको संख्या चार लाखसम्म पुगेको अनुमान गरिएको छ।
विवाहको अर्को आकर्षण घोडा दौड थियो। दौडमा पहिलो हुनेलाई महिन्द्रा थार, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रो हुनेलाई स्कुटर दिने घोषणा गरिएको थियो। बेहुला ऋषिकेशलाई भने करिब साढे तीन करोड भारतीय रुपैयाँ मूल्य पर्ने ल्यान्ड रोभर डिफेन्डर उपहार दिइएको समाचारमा उल्लेख छ। विवाहमा पाहुनामाथि भारतीय रुपैयाँका नोट छरिएको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल छ।
भारतीय सञ्चारमाध्यमका अनुसार समारोहमा भीआईपी पाहुनाका लागि हेलिप्याड निर्माण गरिएको थियो। भोज व्यवस्थापनका लागि सयौँ कामदार परिचालन गरिएको थियो।
विवाहको भव्यतासँगै यसको खर्चको स्रोतबारे पनि प्रश्न उठेको छ। विवाहमा भएको खर्चको स्रोतबारे अनुसन्धान हुनुपर्ने माग उठेको छ। सिंहले भने विवाहका लागि टेन्ट तथा अन्य व्यवस्थापनको खर्च साथीभाइले बेहोरेको बताएका छन्।
को हुन् अनन्त सिंह?
बिहारको राजनीतिमा ‘छोटे सरकार’ नामले चिनिने अनन्त सिंह पटना जिल्लाको मोकामा क्षेत्रका प्रभावशाली नेता हुन्। सन् २००५ देखि मोकामाको राजनीतिमा प्रभाव जमाउँदै आएका उनले जनता दल युनाइटेड, राष्ट्रिय जनता दल र स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका छन्।
सन् २०२५ को बिहार विधानसभा निर्वाचनमा उनी जेडीयूबाट मोकामा क्षेत्रमा निर्वाचित भएका थिए। तर उनको राजनीतिक जीवनसँगै आपराधिक मुद्दाहरू पनि जोडिएका छन्। निर्वाचनसम्बन्धी शपथपत्रमा उनले आफूमाथि २८ वटा आपराधिक मुद्दा विचाराधीन रहेको उल्लेख गरेका छन्।
हतियारसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि सन् २०२२ मा उनले विधायक पद गुमाएका थिए। त्यसपछि भएको उपनिर्वाचनमा उनकी पत्नी नीलम देवी निर्वाचित भएकी थिइन्। सन् २०२४ मा पटना उच्च अदालतबाट उक्त मुद्दामा सफाइ पाएपछि सिंह जेलबाट रिहा भएका थिए।
अनन्त सिंह अहिले दुलारचन्द यादव हत्या प्रकरणमा आरोपित छन्। सन् २०२५ अक्टोबर ३० मा बिहार विधानसभा निर्वाचनको प्रचारका क्रममा मोकामामा यादवको हत्या भएको थियो। उनी जनसुराज पार्टीका समर्थक तथा पूर्व राष्ट्रिय जनता दलका नेता थिए।
उक्त घटनामा अनन्त सिंह र उनका सहयोगीमाथि संलग्नताको आरोप लागेको छ। प्रहरीले घटनासम्बन्धी अनुसन्धान अघि बढाउँदै नोभेम्बर १ मा सिंहलाई पक्राउ गरेको थियो।
सन् २०२६ मार्चमा पटना उच्च अदालतले उनलाई जमानत दिएपछि उनी जेलबाट बाहिरिएका थिए। तर अक्टोबर ३० मा सर्वोच्च अदालतले उच्च अदालतको जमानत आदेश उल्ट्याउँदै उनलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो।
छोरीको विवाहमा सहभागी हुन पाउने गरी समय माग भएपछि अदालतले उनलाई डिसेम्बर १ सम्म आत्मसमर्पण गर्ने समय दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यससँगै छोरीको विवाहपछि अनन्त सिंह पुनः जेल फर्कने तयारीमा जुटेका छन्। जेल फर्किनुअघि उनी आफूमाथिको केही मुद्दामा कानुनी उपचार खोजिरहेको बताइएको छ।









