मोदीले गरे बालेनको प्रशंसा, ‘नेपालको भविष्यप्रति स्पष्ट सोच र दूरदर्शिता भएको व्यक्ति’

बिजमाण्डू
२०८३ मंसिर ७ गते १४:३१ | Nov 23, 2026
मोदीले गरे बालेनको प्रशंसा, ‘नेपालको भविष्यप्रति स्पष्ट सोच र दूरदर्शिता भएको व्यक्ति’

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही महिनाअघि संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रस्तुत गरेको दृष्टिकोणबाट नेपालको भविष्यप्रतिको उनको सोच र दूरदर्शिता स्पष्ट भएको उल्लेख गरेका छन्।

GBIME
Tata

प्रधानमन्त्री शाहसँगको वार्तापछि मोदीले संयुक्त पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन्।

मोदीले पछिल्ला केही घण्टामा भएको छलफलबाट नेपालको भविष्य र भारत-नेपाल सम्बन्धप्रति उनको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता आफूले महसुस गरेको समेत उल्लेख गरेका छन्।

यस वर्ष नेपाली जनताले प्रधानमन्त्री शाहलाई दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताका आकांक्षा र अपेक्षालाई प्रतिबिम्बित गरेको मोदीको भनाइ छ। भारत सशक्त र समृद्ध नेपालको विकास यात्रामा सधैँ साझेदार रहँदै आएको उनले उल्लेख गरे।

भारत र नेपालबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन दुवै देशले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको पनि मोदीले जानकारी दिए। उनका अनुसार भारत र नेपालबीचको सम्बन्ध केवल छिमेकीको मात्र नभई आत्मीयता र अटुट विश्वासमा आधारित छ।

‘हाम्रा खुसी साझा छन्, चुनौती पनि साझा छन्। हामी एकअर्काको प्रगतिमा साझेदार हौँ र कठिन समयमा एकअर्काको सहारा पनि बनेका छौँ,’ मोदीले भने।

उनले गत अगस्टमा नेपालमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। बाढीबाट प्रभावित परिवारप्रति समवेदना प्रकट गर्दै नेपाललाई पुनर्निर्माण र दीर्घकालीन विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

यसै क्रममा भारतले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासलाई थप मजबुत बनाउन २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको मोदीले बताए।

उक्त सहयोगको मुख्य उद्देश्य बाढी प्रभावित परिवारको जीवन सामान्य अवस्थामा फर्काउनु, नयाँ अवसर सिर्जना गर्नु र भविष्यमा आइपर्न सक्ने विपद्सँग जुध्न नेपालको क्षमता अभिवृद्धि गर्नु रहेको उनले स्पष्ट पारे।

मोदीले भारत र नेपालबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धबाट जोडिएको उल्लेख गरे। दुई देशबीचको आत्मीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै आपसी सहयोग र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।