काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन्। फाइनल अघि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले लुम्बिनीको बलिङ बलियो भएको भन्दै त्यसका लागि रणनीति बनाएको बताए।
‘उनीहरुको बलिङको डेप्थ चाहीँ राम्रो छ। उनीहरुको बलिङमा कसरी खेल्ने भन्ने प्लान मिटिङमा भइसकेको छ,’ छेवैमा हाँसिरहेका लुम्बिनीका कप्तान रोहितकुमार पौडेलतिर हेर्दै ऐरीले भने, ‘त्यो कुरा धेरै नभनौ।’

रोहितकुमार पौडेलले पनि सुदूरपश्चिम बलियो टोली भएको भन्दै त्यही अनुसारको तयारी गरेको बताए। ‘यसअघिका तीन खेल हामीले जितेका छौँ तर त्यसअघिका दुई खेल उहाँहरुले पनि जित्नु भएको छ। क्रिकेट हो जे पनि हुन सक्छ। अहिले हामी राम्रो खेलिरहेका छौँ। तर, पछिल्ला तीन खेलमा के भयोले फाइनल खेलमा अर्थ राख्दैन।’ लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले भने, ‘भोलिको दिनमा राम्रो खेल्नै पर्छ।’
यी दुई टोली अघिल्लो संस्करणको पनि फाइनल खेलका थिए। त्यस संस्करणमा लुम्बिनीले सुदूरपश्चिमलाई हराएर च्याम्पियन बनेको थियो। सुदूरपश्चिमको भने यो तेस्रो फाइनल हो। लुम्बिनी भन्दा अघि पहिलो संस्करणमा जनकपुर बोल्ट्सँग पराजित हुँदा सुदूरपश्चिम च्याम्पियन बन्न चुकेको थियो।









