मिदासले ल्यायो नेपालकै पहिलो माइक्रो सर्भिसेस आर्किटेक्चरमा आधारित ‘एचएमआईएस’

बिजमाण्डू
२०८३ मंसिर ४ गते १९:२८ | Nov 20, 2026
मिदासले ल्यायो नेपालकै पहिलो माइक्रो सर्भिसेस आर्किटेक्चरमा आधारित ‘एचएमआईएस’

काठमाडौं। मिदास हेल्थ सर्भिसेजले नेपालकै पहिलो माइक्रो सर्भिसेस आर्किटेक्चरमा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआईएस)सार्वजनिक गरेको छ।

GBIME
Tata

आइएमई ग्रुपको मुख्य लगानी रहेको मिदासले परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै आफ्नो एचएमआईएस प्लेटफर्मलाई आधुनिक माइक्रो सर्भिसेस आर्किटेक्चरमा रूपान्तरण गरेको हो।

कम्पनीले एचएमआईएस सार्वजनिक गर्नुलाई नेपालको डिजिटल स्वास्थ्य सेवा रूपान्तरणमा महत्त्वपूर्ण उपलब्धि भनेको छ। यो प्रविधिले अस्पतालका विभिन्न विभागका प्रणालीलाई छुट्टाछुट्टै तर आपसमा समन्वय गरेर सञ्चालन गर्न सकिने बनाउँछ।

मिदासले केन्द्रीयस्तरका अस्पताल, मेडिकल कलेज तथा निजी क्लिनिकसमेत गरी २५० भन्दा बढी स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्दै आएको छ।

पछिल्लो स्तरोन्नतिले अस्पतालको सूचना प्रणालीलाई थप लचिलो, विस्तारयोग्य र भरपर्दो बनाउँदै बदलिँदो आवश्यकता तथा सेवाग्राहीको चापअनुसार छिटो अनुकूलन गर्न सहयोग पुर्‍याउने कम्पनीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

मोनोलिथिक संरचनामा अस्पतालका बिलिङ, फार्मेसी, बिरामी अभिलेख, प्रयोगशाला प्रतिवेदनलगायत सबै सेवा एउटै ठूलो सफ्टवेयर संरचनाभित्र सञ्चालन हुने हुँदा कुनै एउटा विभागमा प्राविधिक समस्या आएमा वा प्रणाली अद्यावधिक गर्नुपरे अन्य सेवा पनि प्रभावित हुने जोखिम हुन्छ।

तर, माइक्रो सर्भिसेस आर्किटेक्चरमा बिलिङ, फार्मेसी र बिरामी अभिलेखजस्ता सेवा छुट्टाछुट्टै मोड्युलका रूपमा स्वतन्त्र सञ्चालन हुने भएकाले कुनै एउटा मोड्युलमा अद्यावधिक गर्दा अन्य विभागको कामकाजमा असर नपर्ने गरी परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ।

मिदास हेल्थ सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत अंकित भण्डारीले स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई उनीहरूको आवश्यकतासँगै विकसित प्रणाली ल्याएको बताए। उनले नयाँ प्रणालीले बिरामीको उपचार सेवा तथा अस्पताल प्रशासनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताए