सेयर बजारमा एन्थ्रोपिकको डेब्यू, कम्पनीको मूल्यांकन १.७६ ट्रिलियन डलर पुग्यो

बिजमाण्डू
२०८३ मंसिर ४ गते ०७:४८ | Nov 20, 2026
सेयर बजारमा एन्थ्रोपिकको डेब्यू, कम्पनीको मूल्यांकन १.७६ ट्रिलियन डलर पुग्यो

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स(एआई) कम्पनी एन्थ्रोपिक सेयर बजारमा कारोबार सुरु भएसँगै विश्वकै सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीहरूमध्ये एक बनेको छ।

GBIME
Tata

बिहीबार नास्डाक स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै कम्पनीको कुल मूल्यांकन करिब १.७६ ट्रिलियन अमेरिकी डलर पुगेको छ।

एआई प्रविधिको विकासमा भइरहेको विशाल लगानीका कारण एन्थ्रोपिकको यो डेब्युलाई समग्र उद्योगकै लागि एक महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको थियो।

प्रतिसेयर ८३ डलरको प्रारम्भिक निष्कासन मूल्य तोकिएकोमा कारोबार सुरु भएलगत्तै सेयर मूल्यमा बढेको अन्तर्राष्ट्रिय संचारमाध्यममा उल्लेख छ।

यद्यपि, बिहीबारको केही घण्टाको कारोबारमा एआईको भविष्यलाई लिएर लगानीकर्ताहरू अझै अनिश्चित रहेको संकेत देखिएको विश्लेषकहरुले बताएका छन्।

सुरुवाती चरणमा एन्थ्रोपिकको सेयर मूल्य ह्वात्तै बढेर १११.५३ डलरसम्म पुगेको थियो। जसले कम्पनीको बजार मूल्य करिब २ ट्रिलियन डलर नजिक पुर्‍याएको थियो । तर, दिनको अन्त्यतिर मूल्यमा गिरावट आई ९७.१७ डलरमा बन्द भयो।

दिनभरमा सेयर मूल्य करिब १७ प्रतिशतले बढेकाले केही लगानीकर्ताले एन्थ्रोपिकको डेब्युलाई सफल मानेका छन्। तर, समग्र प्रविधि बजारको प्रदर्शन भने कमजोर रहेको बताइएको छ।

प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक कम्पोजिट सूचकांक झन्डै २.३ प्रतिशतले घटेर बन्द भयो। गुगलको माउ कम्पनी अल्फाबेटको सेयर २.९ प्रतिशतले र अमेजनको सेयर करिब ३.९ प्रतिशतले ओरालो लाग्दा ठूला प्रविधि कम्पनीहरूले गिरावट बेहोरेका छन्।