काठमाडौं। बैंकिङ क्षेत्रतर्फ सबैभन्दा बढी कर तिरेको नबिल बैंक सम्मानित भएको छ। सरकारले कर दिवसका अवसरमा नबिल बैंकलाई सम्मानित गरेको छ।
नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/०८३ मा बढि कर तिरेको भन्दै बैंकलाई सम्मान गरेको हो। सम्मान बैंकका अध्यक्ष निर्वाण चौधरीले ग्रहण गरेका छन्।
सम्मान ग्रहणपछि चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए। ‘सम्मानले हाम्रा कर्मचारीहरूको योगदान र ग्राहकहरूले हामीप्रति देखाउनुभएको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हामी करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छौँ। ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न, जिम्मेवार व्यावसायिक अभ्यास अवलम्बन गर्न र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्याउन हामी निरन्तर प्रतिबद्ध छौँ’ उनले भने।
नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक राजस्व योगदान गर्ने करदाता तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ।
चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ। दिगो बैंकिङलाई प्राथमिकता दिँदै बैंकले डिजिटल सेवाको विस्तारका लागि एनबैंक सञ्चालनमा ल्याएको छ।
देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको नबिल बैंकले ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालासँगको सहकार्यमा आर्थिक अवसर विस्तार गर्न र मुलुकको समृद्धिमा योगदान पुर्याउन प्रतिबद्धता व्यक्त गरेको छ।
नबिल सर्बाधिक नाफा गर्ने बैंक हो। बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई १५.८ प्रतिशत लाभांस वितरण गरेको थियो।










