लक्ष्मीपूजामा बिजुलीको खपत बढ्दा पनि गर्नुपर्दैन आयात, ‘आन्तरिक उत्पादन नै पर्याप्त छ’

बिजमाण्डू
२०८३ कात्तिक २१ गते १०:४३ | Nov 7, 2026
लक्ष्मीपूजामा बिजुलीको खपत बढ्दा पनि गर्नुपर्दैन आयात, ‘आन्तरिक उत्पादन नै पर्याप्त छ’
फाइल तस्बिर


काठमाडौं। तिहारको लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ। तर, यो माग धान्न नेपालले भारतबाट बिजुली आयात गर्नुपर्ने छैन। नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने प्रक्षेपण गरेको छ।

GBIME
Tata

प्राधिकरणका अनुसार तिहारको समयमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने अनुमान छ। यसअनुसार लक्ष्मीपूजाको साँझको उच्चतम मागभन्दा उत्पादन करिब ८०० मेगावाट बढी हुनेछ। आन्तरिक उत्पादनले माग धान्ने मात्र नभई अतिरिक्त विद्युत् निर्यात गर्न सक्ने अवस्थासमेत रहने प्राधिकरणको आकलन छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लक्ष्मीपूजाका दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने बताएका छन्। मागभन्दा उत्पादन बढी हुने भएकाले उपभोक्तालाई नियमित र गुणस्तरीय विद्युत् उपलब्ध गराउन समस्या नहुने उनको दाबी छ।

तिहारमा घर, पसल र सार्वजनिक स्थानमा झिलिमिली बत्ती बाल्ने चलनका कारण विद्युत् खपत बढ्ने गर्छ। विशेषगरी लक्ष्मीपूजाको साँझ घरायसी प्रयोजनमा विद्युत्को माग उच्च हुन्छ। नेपालमा लक्ष्मीपूजाका दिनको अधिकतम माग पछिल्ला वर्षमा बढ्दै गएको छ। गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को उच्चतम माग १ हजार ६५० मेगावाट पुगेको थियो। त्यसअघि २०२४ मा १ हजार ६०२ मेगावाट थियो। यस वर्षको प्रक्षेपित माग गत वर्षको तुलनामा करिब ५० मेगावाट बढी हो।

जलविद्युत् आयोजनाको उत्पादन क्षमता विस्तार हुँदै जाँदा तिहारको विद्युत् माग धान्न आन्तरिक उत्पादनमा निर्भर हुने अवस्था बनेको छ। यसले वर्षायाममा उत्पादन बढेर खेर जाने जोखिम रहेको विद्युत् व्यवस्थापनका लागि निर्यातको सम्भावनासमेत देखाउँछ।

यसैबीच, तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन प्राधिकरणले विशेष तयारी गरेको जनाएको छ। कार्यकारी निर्देशक श्रेष्ठले आपूर्तिमा अवरोध हुन नदिन सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्। प्रसारण तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार समयमै सम्पन्न गर्न, समस्या देखिए तत्काल मर्मत गर्न र प्राविधिक टोली तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

त्यस्तै, विद्युत् सेवासम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित उठाउन र गुनासो व्यवस्थापन प्रभावकारी बनाउनसमेत निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।