बारा । अहिले देशभर दसैंको माहोल छ। तिहार र छठ पनि संघारमा छ। यता कलैया उपमहानगरपालिकास्थित पारसा गाउँका प्रजापति (कुम्हाल) समुदायको दिनचर्या भने निकै व्यस्त बनेको छ।
अहिलेको समयमा प्लाष्टिक र धातुका भाँडाकुँडाको प्रयोग बढ्दै गएको छ। तर यो गाउँका करिब ३० घरधुरीले भने आफ्नो परम्परागत पेसालाई अझै निरन्तरता दिइरहेका छन्।

चाडपर्वका लागि आवश्यक पूजाका सामग्री, दियो (पाला), कलश, घैँटो र धुपौरा तयार पार्न यतिबेला गाउँका सम्पूर्ण परिवार एक जुट भएर मेहनत गरिरहेका छन्। नवरात्रको चाँजोपाँजोबीच उनीहरुले आयको माध्यमलाई विश्राम दिएका छैनन्।
काँचो माटो मुछ्ने, चकटी (कुम्हाले चक्र) मा घुमाएर विभिन्न आकार दिने, घाममा सुकाउने र भट्टीमा पकाउने काममा परिवारका बालबालिकादेखि वृद्धवृद्धासम्म उत्तिकै सक्रिय देखिन्छन्।

पारसा गाउँमा तयार पारिएका यी माटाका भाँडाकुँडाहरू स्थानीय बजारमा मात्र बिक्री हुँदैन। चितवन, पोखरा र काठमाडौं लागत प्रमुख शहरहरूसम्म बिक्रीका लागि पठाउने गरिएको छ।
कडा परिश्रम परे पनि वर्षभरिको खर्च धान्ने मुख्य आधार यही सिजन भएको उनीहरु बताउँछन्।


















