काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले विश्व क्रिकेटका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ।
विश्वभरका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा आफ्नो विस्फोटक ब्याटिङ, प्रभावशाली बलिङ र उत्कृष्ट फिल्डिङका कारण परिचित रसेलको आगमनसँगै विराटनगर किंग्सले आगामी सिजनका लागि आफ्नो टोलीलाई थप मजबुत बनाएको छ।
वेस्ट इन्डिजका अनुभवी खेलाडी रसेललाई टी–२० क्रिकेटका सबैभन्दा खतरनाक अलराउन्डरमध्ये एक मानिन्छन्। दबाबपूर्ण अवस्थामा पनि खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता भएका उनले आफ्नो आक्रामक खेलशैलीमार्फत विश्व क्रिकेटमा छुट्टै पहिचान बनाएका छन्। उनको उपस्थितिले विराटनगर किंग्सको ब्याटिङ र बलिङ दुवै पक्षमा थप शक्ति प्रदान गर्ने अपेक्षा गरिएको छ।
आन्द्रे रसेलले सन् २०१० मा वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा सुरु गरेका थिए। उनले सन् २०१२ मा श्रीलंकामा भएको आईसीसी पुरुष टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीको सदस्यका रूपमा पनि सफलता हासिल गरेका थिए। सन् २०१६ मा भारतमा भएको टी–२० विश्वकप जित्दा पनि उनी वेस्ट इन्डिज टोलीका महत्त्वपूर्ण सदस्य थिए।
रसेल इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सका लागि लामो समयदेखि प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। विशेषगरी डेथ ओभरमा आक्रामक ब्याटिङ गर्ने, छक्का प्रहार गर्ने र महत्त्वपूर्ण समयमा विकेट लिने क्षमताका कारण उनी फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय छन्। उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल), बिग बास लिग (बीबीएल) लगायत विभिन्न अन्तर्राष्ट्रिय टी–२० प्रतियोगितामा समेत आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन्।
‘आन्द्रे रसेलजस्ता विश्वस्तरीय खेलाडीलाई विराटनगर किंग्सको परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। उनको अनुभव, विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङले हाम्रो टोलीलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएका छौं। यस सिजन हाम्रो लक्ष्य केवल प्रतिस्पर्धा गर्नु मात्र होइन, उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गर्नु हो। रसेलको आगमनले हाम्रो टोलीमा आत्मविश्वास, ऊर्जा र जितको भोक थप्नेछ। हामी विराटनगरका समर्थकलाई गर्व गर्ने अवसर दिन चाहन्छौं,’ टिमले भनेको छ।
विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा उत्साहित रहेको बताउँदै रसेलले नेपाली क्रिकेट समर्थकहरूमाझ आफ्नो खेल प्रदर्शन गर्न आतुर रहेको बताए।
‘एनपीएल सिजन–३ का लागि विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा म निकै उत्साहित छु। नेपाली क्रिकेट समर्थकहरूको जोश र माया अनुभव गर्न म आतुर छु। मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै समर्थकहरूलाई मनोरञ्जन दिनु र विराटनगर किंग्सलाई उपाधि जिताउन योगदान गर्नु मेरो मुख्य लक्ष्य हुनेछ,’ उनले भने, ‘नेपालमा क्रिकेटप्रति समर्थकहरूको जुन किसिमको क्रेज र माया छ, त्यसलाई नजिकबाट अनुभव गर्न म निकै उत्साहित छु। नेपाली समर्थकहरूसामु खेल्नु र उनीहरूको ऊर्जा महसुस गर्नु मेरा लागि विशेष अनुभव हुनेछ। म विराटनगर किंग्सका समर्थकहरूलाई उत्कृष्ट क्रिकेटको रोमाञ्चकता दिन र टोलीका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आतुर छु।’
रसेलको आगमनले नेपाली क्रिकेट समर्थकलाई विश्वस्तरीय टी–२० क्रिकेटको रोमाञ्चक अनुभव दिलाउने अपेक्षा गरिएको छ। उनको विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङ हेर्न एनपीएलको आगामी संस्करणमा दर्शकहरू उत्साहित हुने आशा गरिएको छ।










