काठमाडौं। पर्साका लालबाबु साह कानुले १० लाख राशिको सरकारी बम्पर उपहार जितेका छन्। २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गरेका कानुले बम्पर उपहार जितेका हुन्।
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार घोषणा गरिएको छ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदास तथा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले असोजको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरेका छन्।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन र नगद खरिदमार्फतका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रममा सहभागी थिए।
नगदमा कारोबार संख्या २ लाख ४७ हजार ९७९ र अनलाइन तथा कार्डबाट भुक्तानी गरिएको कारोबार संख्या ३ करोड १५ लाख ७० हजार ३०७ थियो।
एक लाखका दरले उपहार पाउने विजेता पनि घोषित गरिएको छ।











