काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपालको विद्युत् प्रसारण र ब्याट्री भण्डारण क्षमता विस्तारका लागि नेपालसँग दुईवटा सम्झौता गरेको छ।
सार्वजनिक-निजी साझेदारी (पीपीपी)अन्तर्गत निजी क्षेत्रको लगानी भित्र्याउने उद्देश्यले गरिएको सम्झौतामा एडीबीका नेपालका लागि कन्ट्री डाइरेक्टर अर्नाउड कोउचोइस र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
एडीबीका अनुसार नेपालमा पीपीपीअन्तर्गत विद्युत् प्रसारण र युटिलिटीस्तरको ब्याट्री ऊर्जा भण्डारणका लागि गरिएको यो पहिलो कारोबार परामर्श सेवा सम्झौता हो।
सम्झौताअनुसार एडीबीले सम्भाव्यता अध्ययन, परियोजना सम्झौताको तयारी र खरिद प्रक्रियामा प्राधिकरणलाई सहयोग गर्नेछ। त्यस्तै, बोलपत्र प्रक्रिया र आवश्यक क्षमता अभिवृद्धिमा पनि एडीबीले प्राविधिक सहयोग उपलब्ध गराउनेछ।
यी परियोजनाबाट २० करोड अमेरिकी डलरभन्दा बढी निजी क्षेत्रको लगानी परिचालन हुने अपेक्षा गरिएको छ। यसले विद्युत् प्रसारण र ब्याट्री भण्डारण क्षेत्रमा निजी पुँजी आकर्षित गर्न सहयोग गर्ने एडीबीले जनाएको छ।
पहिलो सम्झौता करिब १३४ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माणसँग सम्बन्धित छ। यो प्रसारण लाइन तिङ्ला-नयाँ खिम्ती-ढल्केबर खण्डमा निर्माण, सञ्चालन र मर्मतसम्भार गर्ने गरी अघि बढाइनेछ।
यो प्रसारण लाइनले नेपालको विद्युत् ग्रिडलाई थप भरपर्दो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। साथै, नवीकरणीय ऊर्जाको प्रणालीमा थप एकीकरण र क्षेत्रीय विद्युत् व्यापार विस्तारमा समेत यसले सहयोग गर्नेछ।
दोस्रो सम्झौता भने प्राधिकरणका विभिन्न सबस्टेसनमा ठूलो क्षमताको ब्याट्री ऊर्जा भण्डारण प्रणाली जडानसँग सम्बन्धित छ। पीपीपी मोडलमा १०० देखि १५० मेगावाट आवर क्षमताका बहुस्थानीय ब्याट्री भण्डारण प्रणाली स्थापना र सञ्चालन गरिनेछ।
ब्याट्री भण्डारण प्रणालीले विद्युतको उच्च माग हुने समयमा ग्रिडमा देखिने दबाब व्यवस्थापन गर्न सहयोग गर्नेछ। यसले नवीकरणीय ऊर्जाको उतारचढावलाई प्रणालीमा समेट्न तथा ग्रिडको स्थिरता र विश्वसनीयता बढाउन पनि भूमिका खेल्नेछ।
एडीबीका अनुसार नेपालमा विद्युत् पहुँच २०१६ को ५८ प्रतिशतबाट बढेर २०२५ मा ९९ प्रतिशत पुगेको छ। अबको चुनौती विद्युतको पहुँच विस्तारसँगै भरपर्दो घरेलु आपूर्ति र दीर्घकालीन निर्यात क्षमता विकास गर्नु रहेको एडीबीले जनाएको छ।
यी दुवै परियोजनाले विद्युत् उत्पादन आयोजनाबाट उत्पादित ऊर्जा भरपर्दो रूपमा प्रसारण प्रणालीमा पुर्याउन सहयोग गर्ने बताइएको छ। साथै, प्रसारण र ब्याट्री भण्डारण क्षेत्रमा निजी लगानी परिचालनका लागि नयाँ आधार तयार हुने एडीबीले जनाएको छ।











