दसैंतिहार नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार तीव्र, पहिलेभन्दा १५ प्रतिशतले वृद्धि

बिजमाण्डू
२०८३ असोज १६ गते ०७:५४ | Oct 2, 2026
दसैंतिहार नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार तीव्र, पहिलेभन्दा १५ प्रतिशतले वृद्धि
तस्बिर : रासस।


सुनसरी। चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ। कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन्।

Vigo
GBIME
Tata

बजारमा दैनिक रूपमा उपभोग्य वस्तुका साथै खसीबोकाको किनबेच हुने गरेको छ। बिहीबार र शुक्रबार दुई दिन विशेष रूपमा खसीबोकाको बजार लाग्ने छ।

धरान-१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आएका छन्। उनले घरमै खसीबोका पालेका छन्। यस्तै, धनकुटा, पाँचथर लगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याइएका खसीबोका पनि बिक्री गर्ने गरेको उनले जानकारी दिए।

‘व्यापार हो, कहिले नाफा हुन्छ, कहिले घाटा। यही व्यवसायबाट घरखर्च पुगेको छ। यहाँको खसी बजारको व्यवस्थापन राम्रो भएकाले व्यापार गर्न सहज भएको छ,’ उनले भने।

मोरङको कानेपोखरीका व्यवसायी चन्द्र खड्का प्रत्येक साता खसीबोका खरिद गर्न धरान आउँछन्। उनले एकपटकमा १०० देखि १५० वटासम्म खसीबोका खरिदबिक्री गर्दै आएका छन्।

उनले उक्त व्यवसाय थालेको २३ वर्ष भइसकेको बताए। खड्काले धरानबाट खरिद गरेका खसीबोका काठमाडौं, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरा लगायत सहरमा बिक्री गर्ने गरेको बताए।

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सातामा ३ हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन्। दसैँ, तिहारजस्ता चाडपर्वको समयमा भने हप्तामा १० हजार बढी खसीबोका बिक्री हुने गरेको उनले जानकारी दिए।

आर्थिक वर्ष २०८२/८३ मा कृषि उपज बजारबाट १ लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब ३ अर्ब रुपैयाँको कारोबार भएको अध्यक्ष भट्टराईले उल्लेख गरे। गत वर्षको चाडपर्वमा मात्रै ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष कारोबार थप वृद्धि हुनसक्ने उनको भनाइ छ।

भट्टराईका अनुसार बजारमा अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष खसीबोकाको कारोबार १५ प्रतिशतले वृद्धि भइसकेको छ। बजारमा पहाडी जिल्लाका साथै इटहरी, मोरङको कानेपोखरी र बेलबारी लगायत तराईका किसान तथा व्यापारी खसीबोका खरिदबिक्रीका लागि आउने गरेका छन्।

कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषि उपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा योगदान पुर्‍याएको अध्यक्ष भट्टराईले बताए। रासस