विराटनगर। भोटेकोशीको बाढीमा रसुवा भन्सार र त्यस वरपर नेपालको सरहदमा रहेका ३३८ वटा ट्रक र कन्टेनर बगे। व्यवसायीले दसैंतिहारलाई लक्षित गरेर ल्याएका तयारी कपडा, फुटवेयर, विद्युतीय सामग्री, खेलौना, इन्टेरियरका सामान एक निमेषमा विलीन भए।
व्यवसायीका अनुसार एउटा मालबाहक सवारीसाधनमा कम्तीमा डेढ करोड मूल्यको सामान हुन्छ। महँगा सामानको ट्रक/कन्टेनर हो भने ३ करोडभन्दा बढीको हुन्छ। यस आधारमा ३३८ वटा ट्रक/कन्टेनर बाढीमा पर्दा थोरैमा पनि ५ अर्बभन्दा बढीका वस्तु नष्ट भए। यसबाहेक बगेका ट्रक/कन्टेनरको मूल्य अलग्गै छ।
बाढीमा बगेका अधिकांश सामानको बीमा नहुँदा व्यवसायीले ठूलो घाटा सहनुपरेको छ। सामान्यतया चिनियाँ सामानको कारोबार गर्दै आएका व्यवसायीले भन्सार नाकादेखि आफ्नो पसल वा गोदामसम्म सामान ढुवानी गर्दाको बीमा नहुँदा यो घाटा सहनुपरेको हो।
‘हामीले २ वटा कन्टेनरमा ज्याकेटको कच्चा सामग्री फिदर ल्याएका थियौं। एक कन्टेनर फिदरको मूल्य २ करोडभन्दा बढी थियो। हाम्रो ४ करोड नोक्सान भयो। बीमा भएको भए केही राहत हुन्थ्यो होला,’ काठमाडौंमा गार्मेन्ट उद्योग चलाउँदै आएका एक व्यवसायीले भने।
व्यवसायीले बाढीमा भएको क्षतिबारे औपचारिकरुपमा भन्ने हिम्मत गर्न सकेका छैनन्। यसको कारणबारे ती उद्योगीले भने- यस्तो खबर सार्वजनिक हुनेबित्तिकै अन्य प्रतिस्पर्धीले नकारात्मक चर्चा बजारमा लगिदिन्छन्। त्यसैले मेरो सामान बग्यो भनेर खुलेर भन्ने अवस्था पनि छैन।
नेपालमा चिनियाँ वस्तुको कारोबार गर्ने अधिकांश व्यवसायीले बैंकमा एलसी खोलेर ‘सीआईएफ इम्पोर्ट’ (कस्ट, इन्सुरेन्स र फ्रेटसहितको आयात) गर्दैनन्। चीनबाट हुने आयातको प्रक्रिया अन्य समुद्रपारका मुलुकको भन्दा भिन्न छ। यस्ता आयातकर्ताले ढुवानीकर्ताका भरमा वस्तु ल्याउँछन्। चिनियाँ कारोबारमा ढुवानीकर्तालाई क्यारिङ भन्ने गरिन्छ।
सबैभन्दा पहिले आयातकर्ताले चीनको बजारमा गएर सामान खरिद गर्छन्। यसरी सामान खरिद गर्दा उनीहरूले हुन्डीबाट आरएमबी (चिनियाँ मुद्रा) पठाएका हुन्छन्। त्यही आरएमबीबाट उनीहरूले सामान खरिद गर्छन्। उनीहरूले यसपछि यो सामान क्यारिङको जिम्मा लगाउँछन्। क्यारिङले सामानको मूल्य भन्सार कार्यालयमा जति देखाउनु पर्ने हो, त्यति नै मूल्यको बिल चिनियाँ व्यवसायीसँग लिन्छन् र उनले आफ्नै फर्मका नाममा सामान आयात गर्छन्।
क्यारिङले यसरी भन्सारमा देखाउने मूल्य बराबरको रकम बैंकिङ प्रक्रियाबाट पठाउँछन्। क्यारिङले आफ्नो फर्मको नाममा आयात गरेको सामान नेपालका वास्तविक आयातकर्तालाई बिल काटेर बिक्री भएको देखाएर दिने गर्छन्। यसरी क्यारिङले नेपालका व्यवसायीको सामान ल्याउँदा बजारदेखि चिनियाँ भन्सारसम्मको मात्र बीमा गरेका हुन्छन्। किनकि चीनमा बीमा नगरी निर्यात गर्ने सामान ढुवानी गर्न पाइँदैन।

यही सामान चिनियाँ भन्सारबाट जाँचपास भएर नेपालको भन्सारमा आइपुग्दा बीमाविहीन भइसकेको हुन्छ। यही कारण ३३८ ट्रक तथा कन्टेनरमा भएका चिनियाँ सामानका आयातकर्ताले बेपत्ता भएको सामानको बिमा रकम पाउन सकेनन्।
क्यारिङले नेपालको भन्सारमा सामान जाँचपास गर्दा बैंकिङ प्रक्रियाबाट भुक्तानी भएको कागजात बुझाउनु पर्छ।
चीनबाट कुनै वस्तु आयात गर्दा दोहोरो भुक्तानी भएको हुन्छ। पहिलो भुक्तानी आयातकर्ताले सबैभन्दा पहिले सामान खरिद गर्दा हुन्डीबाट गरिसकेका हुन्छन् र दोस्रो भुक्तानी क्यारियरले बैंकिङ प्रक्रियामार्फत गर्छन्।
दोहोरो भुक्तानी भएर बढी भएको रकम पछिका कारोबारमा समायोजन हुँदै जान्छ। आयातकर्ताले हुन्डीबाट भुक्तानी गर्नुपर्ने अर्को बाध्यता के छ भने चीनबाट अधिकांश वस्तु न्यून बिजकीकरणमा आयात हुन्छन्। बैंकिङ प्रक्रियाबाट लगेको रकम भन्सारमा देखाउने मूल्य प्रयोजनका लागि मात्र हुने भएकाले वस्तुको वास्तविक मूल्यभन्दा धेरै कम हुन्छ। त्यसैले चीनसँगको व्यापारमा हुन्डीको धन्धा मौलाएको हो।
व्यवसायीले न्यून बिजकीकरणमा वस्तु आयात गर्ने भएकाले पनि त्यसको बीमा गर्नुको कुनै अर्थ हुँदैन। किनकि बीमा दाबीपछि प्राप्त हुने रकम नगन्य हुन्छ।
नेपाल चेम्बर अफ कमर्सका राजस्व समितिका सभापति एवं आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालले चीनसँगको कारोबारमा एलसीमार्फत् कर्जामा आयात गर्नेले र एजेन्सी व्यापार गर्नेले मात्र बीमा गर्ने गरेको बताए।
‘सामान्यतया चीनबाट आयात गर्ने धेरै व्यवसायीले नेपालतर्फको बीमा गर्नुहुन्न। यो प्रचलन नै छैन। यसमा सरकारको पनि दोष छ,’ उनले भने।

उनका अनुसार सरकारले भन्सार विन्दुमा यथार्थ कारोबारलाई मान्यता दिने र बैंकले एडभान्समा विदेशी मुद्राको सटही सुविधा नदिएसम्म चीनसँगको कारोबार सङ्लो हुँदैन।
‘बैंकले निश्चित शुल्क वा धरौटी लिएर एडभान्समा आरएमबीको सटही सुविधा दिएमा हुन्डीको कारोबार अन्त्य हुन्छ,’ उनले भने, ‘सरकारले भन्सार विन्दुमा यथार्थ कारोबारलाई मान्यता र एडभान्समा आरएमबीको सटही सुविधा दिएर भन्सार विन्दुदेखि गन्तव्यसम्म बीमा गर्न अनिवार्य गर्नुपर्छ।’











