अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्।
वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको केही दिनपछि यो घोषणा गरिएको हो।
गत वर्ष कुनै समय चीनबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार दर १४५ प्रतिशतसम्म पुगेको थियो। पछिल्लो समय दुई देशबीचको व्यापारिक तनाव कम हुँदै गएपछि अमेरिकाले चीनमाथिको केही भन्सार दर घटाइसकेको छ।
चिनियाँ वाणिज्य मन्त्रालयले नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग सुदृढ गर्न सहयोग पुग्ने जनाएको छ।
चीनले अमेरिकाबाट आयात गर्ने एक हजार ६१९ प्रकारका वस्तु सूचीमा समेटिएका छन्। तीमध्ये कृषि उपज, व्यक्तिगत स्याहारका सामग्री, काठ, चिकित्सा उपकरण र कोइलालगायत छन्।
त्यस्तै, अमेरिकाले चीनबाट आयात गर्ने ७७ वर्गका वस्तुमा भन्सार कटौती गरिनेछ। यसमा आतिशबाजी, भान्साका भाँडाकुँडा, सिसा तथा काठका क्रिसमस सजावटका सामग्री र फुटबललगायत छन्।
चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार ९० प्रतिशतभन्दा बढी वस्तुमा ‘मोस्ट फेभर्ड नेसन’ अर्थात् सबैभन्दा प्राथमिकता प्राप्त राष्ट्रको स्तरको भन्सार दर कायम गरिनेछ। यसले सम्बन्धित देशका लागि लगाइएका अतिरिक्त भन्सार दर अधिकांशतः हट्ने जनाइएको छ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सूचीमा दुवै पक्षका गैरसंवेदनशील वस्तु समेटिएको बताएर। उनका अनुसार नयाँ व्यवस्थाबाट अमेरिकी किसान, उत्पादक, व्यवसायी र श्रमिकले चीनको बजारमा थप पहुँच पाउन सक्नेछन्।
दुवै देशले आवश्यकताअनुसार सूचीमा संशोधन गर्न सकिने सहमति गरेका छन्। तर यस्तो संशोधन बढीमा वर्षमा एकपटक मात्र हुने सम्भावना रहेको बताइएको छ।
चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार कृषि क्षेत्रमा थप सहकार्यका लागि दुवै देश सहमत भएका छन्। तर चिप, विद्युतीय सवारीसाधन र ब्याट्रीजस्ता रणनीतिक महत्वका क्षेत्र भने सम्झौतामा समेटिएका छैनन्।
द्विपक्षीय व्यापार बढ्ने अपेक्षा
आइएनजी बैंकका ग्रेटर चाइना क्षेत्रका प्रमुख अर्थशास्त्री लिन सङले भन्सार कटौतीले दुई देशबीचको व्यापारमा उल्लेखनीय वृद्धि हुन सक्ने बताए। चीनबाट अमेरिका निर्यात हुने उपभोक्ता सामग्रीमा बढी ध्यान दिइएकाले अमेरिकी उपभोक्तालाई पनि लाभ पुग्न सक्ने विश्लेषकको भनाइ छ।
फ्रान्सेली बैंक नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीका अनुसार चीनबाट आयात हुने उपभोक्ता सामग्रीमा भन्सार घट्दा अमेरिकी मुद्रास्फीति नियन्त्रणमा समेत सहयोग पुग्न सक्छ। यसबाट चिनियाँ कम्पनीलाई अतिरिक्त उत्पादन निर्यात गर्ने अवसर पनि बढ्न सक्छ।
यद्यपि, केही विश्लेषकले दुवैतर्फ करिब ३० अर्ब डलर बराबरको कारोबार समेटिएको भए पनि यसको समग्र आर्थिक प्रभाव सीमित हुन सक्ने बताएका छन्।
बीएनपी पारिबास वेल्थ म्यानेजमेन्टका एसियाली क्षेत्रका प्रमुख लगानी अधिकृत प्रशान्त भयानीका अनुसार यस वर्षको पहिलो सात महिनामा अमेरिकाबाट चीनतर्फ करिब ६८ अर्ब डलर बराबरका वस्तु निर्यात भएका छन्। पहिलो आठ महिनामा चीनबाट अमेरिकातर्फको निर्यात करिब २७० अर्ब डलर पुगेको छ।
चीनको व्यापार बचत उच्च रहने अपेक्षा
गत वर्ष चीनको व्यापार बचत कीर्तिमानी एक दशमलव दुई ट्रिलियन डलर पुगेको थियो। यस वर्ष अगस्टसम्ममा यस्तो बचत करिब ८०० अर्ब डलर पुगेको विश्लेषकहरूले बताएका छन्।
अमेरिकाले औद्योगिक क्षमताको अधिकतासम्बन्धी अनुसन्धानअन्तर्गत चीनसहित १६ व्यापारिक साझेदारमाथि छानबिन गरिरहेको छ । अनुसन्धानपछि चीनमाथि थप भन्सार लगाउन सक्ने सम्भावना पनि रहेको छ।
यसैबीच, अमेरिका र चीनले गत साता व्यापक व्यापार युद्धविरामको अवधि थप दुई महिना लम्ब्याउने सहमति गरेका थिए। आगामी नोभेम्बरमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलन र डिसेम्बरमा जी–२० शिखर सम्मेलनमा ट्रम्प र सीबीच थप भेटवार्ता हुने अपेक्षा गरिएको छ।
दक्षिण चीनमा क्रिसमस सजावटका सामग्री उत्पादन गरी अमेरिका निर्यात गर्ने केही चिनियाँ व्यवसायीले नयाँ भन्सार व्यवस्थाको स्वागत गरेका छन्। यद्यपि, यस वर्षका अधिकांश क्रिसमस सामग्री मुख्य सिजनअघि नै ढुवानी भइसकेकाले तत्काल यसको प्रभाव सीमित हुन सक्ने उनीहरूको भनाइ छ। रासस











