ठूलो बाढी आएपछि नारायणीको पुलमा मोटरसाइकल बाहेकका सवारीसाधन संचालनमा रोक

बिजमाण्डू
२०८३ असोज ११ गते १६:०० | Sep 27, 2026
ठूलो बाढी आएपछि नारायणीको पुलमा मोटरसाइकल बाहेकका सवारीसाधन संचालनमा रोक
तस्बिर : रासस।


नवलपुर (नवलपरासी)। नारायणी नदीमा ठूलो बाढी आएपछि पुलमा सवारीसाधन संचालनमा रोक लगाइएको छ।

Vigo
GBIME
Tata

नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने पूर्व-पश्चिम राजमार्गको नारायणी नदीमा निर्मित पुलमा सवारीसाधन संचालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो केही समयका लागि पुलमा पूर्ण रूपमा सवारी साधन संचालनमा रोक लगाइएकामा अहिले मोटरसाइकललाई मात्र छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए। पुल पुरानो भएको र अत्यधिक हल्लिएपछि सवारीसाधन पूर्ण रूपमा रोक लगाइएको उनले बताए।

सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमाथि रोकिएर पैदलयात्रीलाई तस्बिर, श्रव्यदृश्य सामग्री खिच्न रोक लगाइएको पण्डितले जानकारी दिए। उनका अनुसार नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकल बाहेकका सवारीसाधनलाई गैँडाकोटमा र नवलपुरतर्फ आउने सवारीसाधनलाई चितवनको नारायणघाटमा रोकिएको छ।

नदीमा पानीको बहाव घटेपछि सवारीसाधन पूर्ण रूपमा संचालन गर्न दिइने प्रहरी नायब उपरीक्षक पण्डितले बताए।

देवघाटस्थित जलमापन केन्द्रका अनुसार दिउँसो १:५० बजे नारायणी नदीमा पानीको सतह ११.९१ मिटर पुगेको थियो। नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको केन्द्रले जनाएको छ। केन्द्रमा ७.३ मिटर पानीको सतहलाई चेतावनीको तह र ९ मिटरलाई खतराको तह मानिन्छ।

नारायणीमा पानीको बहाव बढ्दै गएपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन्। रासस