काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत अधिकांश संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन हुँदैछ। अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा तालिका हेरफेर गरिए पनि अधिकांश स्थानमा पूर्वनिर्धारित कार्यक्रमअनुसार अधिवेशन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
समितिका अनुसार असोज १३ गतेभित्र मौसम र स्थानीय अवस्थाको अनुकूलता हेरी अधिवेशन सम्पन्न गर्न सकिने विकल्प दिइएको छ। त्यसअनुसार पहाडी जिल्लाका केही निर्वाचन क्षेत्रमा बाटो अवरुद्ध र मौसम प्रतिकूल भएपछि भोलि तथा पर्सिसम्म अधिवेशन गर्ने गरी तालिका संशोधन गरिएको छ। आज मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै अधिवेशन हुने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताए।
संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक-एक जना, सहसचिव एक महिलासहित दुई जना निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने सभापतिले मनोनयन गर्ने व्यवस्था छ। कार्यसमिति सदस्य १८ जना निर्वाचित हुनेछन्।
महाधिवेशन प्रतिनिधितर्फ प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना चयन हुनेछन्। जसमा महिला चार, खुला १०, एक महिलासहित तीन युवा र जनसंख्याका आधारमा समानुपातिकतर्फ १० जना रहनेछन्। श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिमसहित अल्पसंख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक–एक जना चयन हुने व्यवस्था छ।
त्यसैगरी महासमिति सदस्यमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा एक र जनसंख्याका आधारमा समानुपातिकतर्फ चार गरी १२ जना चयन हुनेछन्।
प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनले ‘क’ र ‘ख’ दुवै क्षेत्रका लागि क्षेत्रीय कार्यसमिति र प्रदेश प्रतिनिधि चयन गर्नेछ। प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक–एक जना तथा एक महिलासहित दुई सहसचिव निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने कार्यसमिति सदस्यबाट सभापतिको प्रस्तावमा मनोनयन हुनेछ।
कार्यसमिति सदस्यतर्फ दुई महिला, एक दलित, एक युवा, तीन खुला र जनसंख्याका आधारमा समानुपातिकतर्फ छ जना निर्वाचित हुनेछन्। थप सात जनालाई मनोनयन गर्न सकिनेछ।
प्रदेश प्रतिनिधिमा दुई महिला, आठ खुला, एक महिलासहित दुई युवा र समानुपातिकतर्फ छ जना चयन हुनेछन्। पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक–एक जना पनि चयन गर्न सकिनेछ।
पालिका सभापति र प्रदेशसभा क्षेत्रीय सभापति संघीय तथा प्रदेश क्षेत्रीय कार्यसमितिका पदेन सदस्य र स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। उनीहरूलाई मतदानको अधिकार भए पनि उम्मेदवार बन्ने अधिकार छैन।
कांग्रेसको अधिवेशन शृंखला असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशनपछि केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा गर्ने तयारी छ।











