काठमाडौं। नेपाली र जापानबीचको खेल नतिजाविहीन बनेको छ। जापानमा जारी एसियन गेम्स अन्तर्गत आज क्रिकेटमा नेपाल र जापानबीचको खेलमा वर्षा भएपछि खेल नतिजाविहीन बनेको हो। योसँगै दुबै टोलीले अंक बाँड्दा नेपाल ३ अंकसहित समूह विजेता बनेको छ। समूह ‘ए’बाट २ अंक बनाएको अफगानिस्तान उपविजेता बन्दा जापान बाहिरिएको छ।
कोरोगी स्पोर्टस पार्कमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले टस हारेर ब्याटिङ गर्दै छोट्याइएको १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो। तर, फेरि वर्षा सुरु भएपछि दोस्रो इनिङ्स नै सुरु हुन सकेन। र, टोलीले अंक बाँढ्न बाध्य भयो।

ब्याटिङमा नेपालका लागि सन्दीप जोरा र लोकेश बमले आक्रामक ब्याटिङ गरे। जोराले ३२ बलमा ५ चौका र छक्का प्रहार गर्दै अविजित ५७ रन बनाउँदा बमले २२ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै अविजित ५२ रन बनाए। जापानका रेओ साकुरानो थोमस, इब्राहिम ताकासाकी, जेक कुसुन्दा र डेक्लान सुजुकीले समान १ विकेट लिए।
अब, नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्नेछ भने अफगानिस्तान भारतसँग भिड्नेछ।











