हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच ८० प्रतिशतसम्म सवारी कर्जा दिने सम्झौता

बिजमाण्डू
२०८३ असोज ७ गते २३:२१ | Sep 23, 2026
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच ८० प्रतिशतसम्म सवारी कर्जा दिने सम्झौता


काठमाडौं। हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच सवारी साधन खरिदका लागि ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।

Vigo
GBIME
Tata

सम्झौताअनुसार हिमालय अर्गनाइजेसनअन्तर्गत बिक्री वितरण हुने व्यावसायिक तथा विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकले ८० प्रतिशतसम्म सवारी कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जा सुविधा गोर्खाज फाइनान्सको देशभर रहेका शाखामार्फत उपलब्ध हुने जनाइएको छ।

सम्झौतामा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी र गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार ग्राहक तथा यातायात व्यवसायीले प्रतिस्पर्धी ब्याजदरमा सात वर्षसम्मको लचिलो भुक्तानी अवधिसहित ८० प्रतिशतसम्म सवारी कर्जा लिन सक्नेछन्।

आवश्यक कागजात पेस गरेको तीनदेखि पाँच कार्यदिनभित्र कर्जा स्वीकृत हुने व्यवस्था मिलाइएको हिमालय अर्गनाइजेसनले जनाएको छ।

हिमालय अर्गनाइजेसनले नेपालमा विद्युतीय सवारी साधन, आधुनिक सार्वजनिक यातायात तथा हेभी ड्युटी ढुवानीका क्षेत्रमा काम गर्दै आएको जनाएको छ। संस्थाले विभिन्न अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डका सवारीसाधन आयात तथा बिक्री वितरण गर्दै आएको छ।

अर्गनाइजेसनले म्याक्सस ब्रान्डका पिकअप तथा युटिलिटी सवारी, डोङफेङ कमर्सियल भेहिकल्सका विद्युतीय सिटी बस तथा स्कुल बस र ह्युबेई ट्राइ-रिङका विद्युतीय ट्रक तथा टिपर उपलब्ध गराउँदै आएको जनाएको छ। फोर्स मोटर्सका कमर्सियल तथा प्यासेन्जर भेहिकल पनि नेपालमा बिक्री वितरण हुँदै आएको छ।

सम्झौतामार्फत यातायात व्यवसायी, उद्यमी तथा संस्थागत ग्राहकलाई सवारी खरिदमा वित्तीय पहुँच सहज बनाउने लक्ष्य राखिएको जनाइएको छ।