विराटनगरमा दसैंलक्षित व्यापार मेला विराट ट्रेड फेयर हुने, आर्थिक गतिविधि चलायमान हुने

बिजमाण्डू
२०८३ असोज ७ गते १५:५६ | Sep 23, 2026
विराटनगरमा दसैंलक्षित व्यापार मेला विराट ट्रेड फेयर हुने, आर्थिक गतिविधि चलायमान हुने


विराटनगर। विराट व्यापार व्यवसायी संघले मुख्य चाड दसैंलाई लक्षित गर्दै विराटनगरमा विराट ट्रेड फेयरको आयोजना गर्ने भएको छ।

Vigo
GBIME
Tata

संघले चाडबाडमा आवश्यक पर्ने उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्यका साथ विराटनगरको जैन भवनको परिसरमा ट्रेड फेयर गर्न लागेको हो। मेला असोज २२ देखि करिब डेढ साता चल्नेछ।

यसअघि २०६७ सालमा यस्तो फेयर संचालन गरेको संघले २०८३ मा दोस्रो संस्करणका रूपमा चाडलक्षित व्यापार मेला आयोजना गर्न लागेको हो। तयारीका क्रममा संघद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रमोद जिन्दलले यही असोज २२ देखि ३० गतेसम्म सुपथ मूल्यको ट्रेड फेयर संचालन गरिने जानकारी दिए।

उनका अनुसार मेलाका लागि एक सय वटा स्टल बुक भइसकेका छन्। ‘उपभोक्ताले चाडपर्वका लागि आवश्यक वस्तु तथा सेवा सहज, आकर्षक र प्रतिस्पर्धी मूल्यमा प्राप्त गर्न तथा सहभागी व्यवसायीले उत्साहजनक व्यापार गर्न सकून् भन्ने उद्देश्यले फेयरको आयोजना गर्न लागेका हौँ’, जिन्दलले भने।

संघले ट्रेड फेयरले विराटनगरको आर्थिक गतिविधिलाई अझ चलायमान् र गतिशील बनाउने विश्वास लिएको छ। मेलामा खाद्यान्न, लत्ताकपडा, फर्निचर, फर्निसिङ सामग्री, गृहउपयोगी सामग्री, कृषि तथा कृषि उत्पादन, बैंक तथा वित्तीय सेवा, सूचनाप्रविधि, हस्तकला लगायतका विभिन्न वस्तु तथा सेवाको प्रदर्शनी तथा विक्री हुने संघले जनाएको छ।

अध्यक्ष जिन्दलले चाडपर्वका बेला विराटनगर र आसपासका उपभोक्ता किनमेलका लागि सीमापारि जोगबनी र भारतका अन्य सहर जाने परिपाटीलाई न्यूनीकरण गर्न ट्रेड फेयरमा गुणस्तरी र ब्रान्डेड वस्तु पनि सहुलियत मूल्यमा उपलब्ध गराउने प्रयास गरिएको जिकिर गरे।

उनले चाडपर्वका बेला खाद्यान्न तथा किराना सामग्री, घरायसी सामान, इलेक्ट्रोनिक सामान र लत्ताकपडाको विशेष बिक्री हुने उल्लेख गरे। एक्स्ट्रा साबुनको उत्पादक हिमगिरि हाइजिन लिमिटेड र रमपम साबुनको उत्पादक एसियन थाई फुड्स मुख्य प्रायोजक रहेको ट्रेड फेयरलाई एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स र एनसेलले पनि प्रायोजन गरेका छन्।