काठमाडौं। बागमती प्रदेशमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा यस्तो आग्रह गरेको हो।
विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनसक्छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने र आकस्मिक बाढी तथा डुबानको जोखिम रहने मन्त्रालयले जनाएको छ।
वर्षाका कारण पहिरो, गेग्रान बहाव र सडक अवरुद्ध हुने जोखिमसमेत रहेको भन्दै सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
नदी तथा खोला किनार, पहिरोको जोखिम भएका क्षेत्र र भिरालो जमिनमा विशेष सावधानी अपनाउन भनिएको छ। डुबान हुनसक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समेत मौसमको अवस्था हेरेर सतर्क रहन आग्रह गरिएको छ।
जोखिमको संकेत देखिएमा तत्काल नजिकको सुरक्षित स्थानमा जान मन्त्रालयले अनुरोध गरेको छ। आवश्यक परे स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न पनि आग्रह गरिएको छ।
अति आवश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न भनिएको छ। यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न मन्त्रालयले आग्रह गरेको छ।
बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ। पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात र आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न पनि अनुरोध गरिएको छ।
मौसम विज्ञान विभागसहित संघीय, प्रदेश र स्थानीय तहबाट जारी हुने सूचना नियमित हेर्न आग्रह गरिएको छ। सुरक्षा निकायले जारी गर्ने पूर्वसूचना तथा चेतावनीको पालना गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
प्रदेश सरकारका सम्बन्धित निकाय, स्थानीय तह र सुरक्षा निकायलाई पूर्वतयारीसहित सतर्क अवस्थामा रहन भनिएको छ। जोखिममा रहेका नागरिकलाई आवश्यकता अनुसार समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।










