त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत पोखरेलसहित आठ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
त्रिपुरासुन्दरी नगरपालिका ६ स्थित हरियापानी पालुङ्ग माझफाल हुँदै रूकुमसम्म जोड्ने मोटरबाटो निर्माणमा अनियमितता गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो।
आयोगले आव २०७८/७९ मा विद्युतीय प्रणालीमार्फत भएको ठेक्कामा अनियमितता गरेको ब्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा एक करोड आठ लाख २६ हजार रुपैयाँ लागत भएको उक्त सडक आयोजनाको ठेक्कामा अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन निमित्त प्रशासकीय अधिकृत पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, त्रिपुरासुन्दरी नगरपालिकाका प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, अपरेटर हरिचन्द्र बिष्ट, बोलपत्र मुल्याङ्कन समितिका सदस्य शिशिरकुमार गुरूङ, छल निर्माण सेवा प्रालिका प्रोपाइटर दिपचन्द्र रोकायाविरुद्ध मुद्दा दायर गरिएको हो ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो ७३ लाख ६१ हजार रुपैयाँ कायम गरी कैद र बिगो बमोजिम जरिवानासहित सजाय माग गरेको छ। रासस











