काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षा हुने पूर्वानुमानबारे जल तथा मौसम विज्ञान विभाग पुगेर ब्रिफिङ लिएका छन्।
उनीहरुले मंगलबार विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठलगायतबाट सम्भावित जोखिमबारे ब्रिफिङ लिएका हुन्। विभागले पश्चिमी न्यून चापीय प्रणालीका कारण ९ देखि ११ गतेसम्म पश्चिमी नेपालको गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण गरेको छ।

गृहमन्त्री गुरुङले सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको बताए। ‘नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने हिसाबले हामी प्लानिङमा छौं,’ उनले भने, ‘के तयारी गर्नुपर्छ भन्ने सिलसिलामा हामीले ब्रिफिङ लिएका छौं।’
सुधनले सुरक्षा निकायलाई अलर्ट गरिएको, उद्धार सामग्री तयारी अवस्थामा राखिएको र स्थानीय सरकारमार्फत पूर्वसूचना प्रवाह गरिएको बताए।
उनले ट्रेकिङमा नजान र गएकाहरुलाई सुरक्षित ठाउँमा जान अनुरोध गरे। उनले विपद् कमाण्ड पोस्टमा सबै निकायको प्रतिनिधि रहेकाले त्यहींबाट समन्वय गर्न निर्देशन दिएको ऊर्जामन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
मन्त्री श्रेष्ठले पूर्वसूचनामा एकीकृत रुपमा परिचालित हुन निर्देशन दिए। ‘जोखिमयुक्त क्षेत्रमा अहिले नै सूचना सर्कुलेट गर्नुस्। तपाइँहरु एकदम अलर्ट भएर वेल कोर्डिनेट भएर लाग्नुस्,’ उनले भने।

मन्त्री श्रेष्ठले कृषि, पर्यटन, यातायातलगायत सबै क्षेत्रलाई सतर्कता अपनाउन आह्वान गरे। ‘सरकारका तर्फबाट अनुरोध गर्छु कि यात्रा गर्दा मौसमबारे सुसूचित हुनुस्। चाडबाडको बेला छ। यात्रा गर्नुअघि जानकारी लिनुस्,’ उनले भने।
उनले भोटेकोशी बाढीबाट पाठ सिकेर यसपालि पूर्वतयारीमा विशेष ध्यान दिएको बताए। ‘मलाई अलिकति चिन्ता के छ भने अस्ति हाइड्रोमा जुन खालको क्षति व्यहोर्यौं, यो पालि त्यस्तो खालको हुन्छ कि? तर राम्रो के भएको छ भन्दा जल तथा मौसम विज्ञान विभागमा निजी क्षेत्रका र विद्युत प्राधिकरणका मान्छेलाई पनि सूचना प्रवाह गर्ने प्रणाली छ,’ उनले भने।











