बाढी प्रभावितको सहयोगार्थ नेपाल रेडक्रसलाई उबरले ५० लाख रुपैयाँ सहयोग गर्ने

बिजमाण्डू
२०८३ असोज ६ गते १२:३८ | Sep 22, 2026
बाढी प्रभावितको सहयोगार्थ नेपाल रेडक्रसलाई उबरले ५० लाख रुपैयाँ सहयोग गर्ने


काठमाडौं । उबरले बाढीबाट प्रभावित समुदायहरूको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Vigo
GBIME
Tata

नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारी उबरले बाढी प्रभावित समुदायहरूका लागि आपत्कालीन सामग्री, अस्थायी आवास र पुनरुत्थान सहयोग उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग साझेदारी गरी ५० लाख रुपैयाँ हस्तान्तरण गर्ने भएको हो। विपद् व्यवस्थापनमा आफ्नो स्थापित संजाल र अनुभवको प्रयोग गर्दै नेपाल रेडक्रस सोसाइटीले यो सहयोग वास्तविक आवश्यकता भएका समुदायसम्म पुग्ने सुनिश्चित गर्ने भनेको छ।

उबरले आफ्नो प्लेटफर्ममार्फत गरिने प्रत्येक यात्राको आधारमा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा समेत योगदान पुर्‍याउने घोषणा यसअघि नै गरेको थियो। बाढी राहत कोषका लागि उबरले आफ्नो प्लेटफर्ममा हुने प्रत्येक ‘उबर बाइक’ यात्राबाट १० रुपैयाँ र प्रत्येक ‘उबर क्याब’ यात्राबाट २० रुपैयाँ योगदान जनाएको छ।

उबरलाई नेपालको रणनीतिक साझेदार ‘ट्याक्सीमान्डु’ जस्ता फ्लिट साझेदारहरूले पनि देशभरका बाढी राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने भनिएको छ। आफ्नो यातायात/गतिशीलता सञ्जाललाई राहत कार्यमा परिचालन गर्दै उबरले नेपालभर भइरहेका सामूहिक उद्धार र पुनर्निर्माणका प्रयासमा योगदान पुर्‍याउने लक्ष्य राखेको विज्ञप्तिमार्फत जनाएको हो।

उबर इन्डिया र दक्षिण एसियाकी इन्टरनेसनल मार्केट्स प्रमुख आकाङ्क्षा सिंहले भनिन्, ‘नेपाल यतिबेला अत्यन्तै कठिन समयबाट गुज्रिरहेको छ र पुनरुत्थानको यो यात्रामा सामूहिक प्रयासको आवश्यकता छ। हामीले सेवा प्रदान गर्ने समुदायको एक हिस्सा हुनुको नाताले हाम्रो जिम्मेवारी यातायात सेवामा मात्र सीमित छैन भन्नेमा हामी विश्वास गर्छौं। नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारीमार्फत हामी महत्त्वपूर्ण राहत तथा पुनर्स्थापना कार्यमा सहयोग गर्न प्रतिबद्ध छौं। हाम्रो यातायात सञ्जाल र स्रोत साधनलाई राहत कार्यमा जोड्दै प्रभावित समुदायहरूलाई पुनः सामान्य जीवनमा फर्कन र पुनर्निर्माणमा मद्दत पुर्‍याउन हामी आफ्नो भूमिका निर्वाह गर्न चाहन्छौं।’