अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धमा हालसम्म ४५.१ अर्ब अमेरिकी डलर (करिब ६९ खर्ब रुपैयाँभन्दा बढी) खर्च भइसकेको जानकारी अमेरिकी संसदलाई दिएको छ।
अमेरिकी कंग्रेसमा पेन्टागनले सेप्टेम्बर ३ सम्म ४३.६ अर्ब डलर खर्च भएको जनाएको हो। त्यस्तै, इन्धनका लागि १.५ अर्ब डलर खर्च भएको जनाइएको छ।
क्षति पुगेका अमेरिकी सैन्य बेस र भवनहरुको मर्मत खर्च यसमा समावेश छैन। त्यसकारण कूल लागत अझै बढी हुने भनिएको छ।
पेन्टागनले जानकारी गराएको रकम कंग्रेसको बजेट कार्यालयले अगस्ट १ सम्मका लागि तय गरेको ३८ अर्ब डलरको प्रक्षेपणभन्दा बढी हो। कार्उयालयका अनुसारका अमेरिकाको युद्ध खर्च प्रतिमहिना २ देखि ३ अर्ब डलरसम्म पुग्ने अनुमान छ।
गोली, बम र हतियारमा ठूलो रकम खर्च भइरहेको जनाइएको छ। युद्धका कारण सन् २०२७ को पहिलो त्रैमासिकमा मुद्रास्फीति बढ्ने र अमेरिकी अर्थतन्त्रमा थप दबाब पर्ने चेतावनी यसअघि नै दिइएको थियो।











