काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुन अनन्तले वालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध जनता विद्रोहका लागि सडकमा उत्रने तयारीमा रहेको बताएका छन्।
नेकपा गण्डकी प्रदेश सम्पर्क समितिले शनिबार आयोजना गरेको कार्यक्रममा उनले दसैं, तिहार र छठपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने बताएका हुन्। विद्रोहमा उत्रिएका जनताको नेतृत्व कसरी गर्ने भन्नेबारे अहिल्यैदेखि तयारी गरिराख्न पार्टी पंक्तिलाई उनले आग्रह पनि गरेका थिए।
३५ वर्षमा केही पनि भएन भनेर भ्रामक प्रचार गरेर शक्तिमा आएकाहरुले प्राकृतिक प्रकोपपछि उद्धार राहतको काममा असफल भएको तथा किसानलाई मल र आममानिसलाई ग्यास दिन नसकेको उनको आरोप थियो। महंगीले चरम सीमा पार गर्दा सरकारको उपस्थिति नदेखिएको पुनको भनाइ छ।
‘३५ वर्षमा के गरे भनेर प्रश्न गर्नेहरुको सरकारले रसुवा बाढीपछि उद्धार र राहतमा के गरे? जनताको चुल्होमा ग्यास छैन के गरे? किसानलाई मल छैन, के गरे? महंगीले आकाश छोएको छ, के गरे?,’ पुनले भने, ‘यो स्वेच्छाचारी, निरंशुक र असफल सरकारविरुद्ध जनतामा व्यापक आक्रोश र निराशा बढेको छ, दसैं, तिहार र छठपछि जनता स्वतः स्फुर्त रुपमा विद्रोहका लागि सडकमा आउँछन्, हामीले त्यसको व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राख्नुपर्ने भएको छ।’
सरकारको गलत रबैका कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता कमजोर भएको भन्दै उनले स्वाधीनता बचाउन जनताले विद्रोह गर्ने समय आएको बताएका थिए।
यस्तै, उनले बितेको ३५ वर्षलाई देशको अभिसापका रुपमा व्याख्या गरेर जनता भड्काउनेहरुको सरकारले त्यही ३५ वर्षमा मुलुकको उच्च प्रशासनिक र सैनिक नेतृत्वमा रहेर हालीमुहाली गरेकाहरुलाई खोजीखोजी महत्त्वपूर्ण जिम्मेवारी दिइरहेको बताए।
पछिल्लोपटक भएको राजदूत नियुक्तिमा अधिकांश त्यस्ता व्यक्तिहरुले अवसर पाएको उनको भनाइ थियो।
त्यसक्रममा पुनले आफूहरुले पार्टी पुनर्गठन र सुदृढीकरण, बाम शक्तिबीच एकता, लोकतान्त्रिक शक्तिबीच सहकार्य र व्यवस्था तथा संविधानको रक्षाका लागि अन्तर्राष्ट्रिय जनमत निर्माणको कामलाई एकैसाथ अघि बढाइरहेको बताएका थिए।
रास्वपाले ‘थ्री डी’ अर्थात ‘युथ डेमोग्राफी’, ‘डिजिटल ट्रान्सफर्मेशन’ र ‘डायसपोरा’ मार्फत एकै साथ स्थापित पार्टीहरुविरुद्ध ३५ वर्षमा केही पनि भएन भनेर भ्रम फैलाउन सफल भएको भन्दै आफूहरु ती क्षेत्रमा बलियो उपस्थिति जनाउने कार्ययोजनासहित अघि बढेको उनको भनाइ थियो।
आगामी महाधिवेशनपछि पार्टीका सबै संरचनामा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नुका साथै रोजगारी वा अध्ययनको सिलसिलामा विश्वभर छरिएका नेपालीका एजेण्डा बोक्ने उनको भनाइ थियो।











