काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको संविधानको समीक्षा सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले संविधान जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसका अन्तर्वस्तु परिष्कृत तथा संशोधन हुन सक्ने बताएका हुन्। संविधानमै रहेको व्यवस्थाले संविधानको समीक्षा मागेको उल्लेख गर्दै अबको समीक्षा सीमान्तकृत तथा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्ने उनले उल्लेख गरेका छन्।
‘कुनै पनि देशको संविधान अक्षरहरूको सँगालो मात्र नभई, राज्य र नागरिकबीचको पवित्र करार हो,’ उनले भनेका छन्, ‘नेपालको परिप्रेक्ष्यमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन सकेको छैन।’
लामिछानेले लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्न सकेपछि मात्र सिद्ध हुने बताएका छन्। रास्वपाले सामाजिक लोकतन्त्रमार्फत नागरिकको मुहारमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट गरेको उनको भनाइ छ।
उनले बेथिति र कमजोरी सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्ने उपयुक्त दिन संविधान दिवस भएको बताएका छन्।
‘बलियो राज्य भनेको बलिया संस्था हुन्,’ उनले भनेका छन्, ‘संविधान दिवसले हामी सबै राजनीतिक शक्ति, राज्यका अंगहरू र आम नागरिकलाई आआफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस्।’











