काठमाडौं। भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शुक्रबार दिनभर कार्यक्रम र भेटघाटमा व्यस्त भएका छन्।
पूर्वविदेशसचिव श्याम शरणले नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी)मा आयोजना गरेको उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गरेका वाग्ले भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गरेको बृहत् भेटघाटमा सहभागी भएका छन्। उनले शुक्रबार साँझ नै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्।
जयशंकरसँग बलियो र भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिका विषयमा छलफल भएको
नयाँदिल्लीस्थित नेपाली दूतावासलाई उद्यृत गर्दै वाग्लेको सचिवालयले जनाएको छ।
लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायमाथि पनि छलफल भएको छ।
अर्थमन्त्री वाग्लेले गोलमेच संवादमा नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउनु पर्नेमा जोड दिएका छन्। उनले दुई देशबीचको साझेदारीलाई समयसापेक्ष बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार अपरिहार्य रहेको बताए।
मन्त्री वाग्लेले विद्यमान नेपाल-भारत व्यापार सन्धिमा समयानुकूल सुधार गरी व्यापार घाटा न्यूनीकरण र गैर-भन्सार अवरोधहरूको निराकरण गर्नुपर्ने आवश्यकता औंल्याएको उनको सचिवालयले जनाएको छ।

वाग्लेले लगानी प्रवर्धनका लागि नीतिगत र कानुनी सुधार गरेको भन्दै ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधि क्षेत्रमा भारतबाट प्रत्यक्ष वैदेशिक लगानी बढाउन आग्रह गरे।
कार्यक्रममा कार्यक्रममा भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता जयराम रमेश, पूर्वविदेश सचिव शिवशंकर मेनन, प्रख्यात अर्थशास्त्री प्रा. डा. दीपक नायर, भारतीय जनता पार्टी (भाजपा) विदेश मामिला विभाग प्रमुख डा. विजय चौथाइवाले लगायतको उपस्थिति थियो।
बिहीबार बिहान नयाँ दिल्ली गएका वाग्लेले साँझ वित्तमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए।











