काठमाडौं। एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारी गर्ने भएको छ।
नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउन एनसेलले नाटोसँग साझेदारीको गर्ने भएको हो।
एनसेल र नाटोले साझेदारीका लागि सम्झौता गरेका छन्। सम्झौतापत्रमा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले हस्ताक्षर गरेका छन्।
यो सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई आफ्नो यात्राभर आआफ्नो देशमा रहेका परिवारका सदस्य र साथीभाइ लगायतसँग सम्पर्कमा रहन सहज हुने एनसेलको विश्वास छ।
साझेदारीअन्तर्गत एनसेलले पर्यटकहरूलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले देशभर फैलिएको आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकहरूमाझ एनसेलका सेवा सुविधाका बारेमा जानकारी र सूचना उपलब्ध गराउने छ।
‘देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकहरूको यात्रा अनुभव अविश्मरणीय बनाउने विश्वास लिएका छौं। यति मात्र होइन, यो साझेदारीले नेपाल कलिङ अभियानलाई प्रवर्धन गर्न र नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ दत्ताले भने।
एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गहरूमा आधुनिक वास (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापना गर्न सहयोग गर्नेछ। यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा हुने एनसेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।











