काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक नियुक्त गरेको छ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले तिवारीलाई महानिर्देशक नियुक्त गरेका हुन्। उनले असोज १ गते देखि लागू हुने गरी तिवारीलाई बुधबार नियुक्तिपत्र प्रदान गरेका छन्।
यो नियुक्तिसँगै महासंघमा डा. तिवारीको पुनरागमन भएको छ। उनले यसअघि सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा सचिवालयको नेतृत्व सम्हालेका थिए।
उनीसँग बृहत् आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक-निजी साझेदारी (पीपीपी)को क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव छ।
उनले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)/विश्व बैंक समूह, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) तथा पछिल्लो समय यूएसएडको ‘तयार नेपाल’ परियोजनामा निजी क्षेत्र समन्वय निर्देशकको रूपमा काम गरेका थिए।
डा. तिवारीले यसअघि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)को महानिर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वरिष्ठ प्राविधिक विज्ञ र नेपाल-जर्मन उद्योग वाणिज्य संघमा रणनीतिक सल्लाहकारका रूपमा काम गरेका थिए।
उनी नेपाल आर्थिक पत्रकार समाज (सेजोन)का पूर्वअध्यक्ष समेत हुन्।
अध्यक्ष श्रेष्ठले तिवारीको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता र निजी क्षेत्रको वकालतसम्बन्धी व्यावहारिक अनुभवले महासंघको काममा सहयोग पुग्ने बताए।
‘हाम्रो नीतिगत पैरवीलाई अझ प्रभावकारी बनाउन, उच्च प्रभावकारी सुधारका कार्यसूची कार्यान्वयन गर्न र नेपाली उद्यमहरूका लागि गतिशील तथा विश्वव्यापी रूपमा प्रतिस्पर्धी वातावरण निर्माण गर्न उहाँको नेतृत्व महत्वपूर्ण साबित हुनेछ,’ श्रेष्ठले भने।










