काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तका कारण नेपालले भोग्नु परेको विपदको अन्तराष्ट्रिय समुदायलाई बलियो गरि जानकारी गराउनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै शाहले भदौ १० गतेको रसुवा बाढीले गम्भीर संकटको सामना गर्नुपरेको बताए।
‘हिमाली क्षेत्रको हिउँचट्टानले हिमपहिरोबाट सिर्जित र यस क्षेत्रकै ठूलो विपद् भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा हामीले खेप्नुपरेको जोखिम बढ्दै गएको गम्भीर संकत गरेको छ,’ उनले भने।
शाहले जलवायु परिवर्तको सामना गर्न विश्वको साझा दायित्व भएको बताए। ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो, यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायमाझ साझा जिम्मेवारी रहेको बुझिएको छ,’ उनले भने।
समयमै बाढीको सूचना किन सरकारले प्रवाह गरेन भन्नेबारेमा शाहले यो फरक खालको घटना भएको बताए। उनले बाढीको सूचना पाए लगतै प्रभावित सबै क्षत्रमा जानकारी गराइएको बताएका छन्।
‘बाढी आउँदै गरेको सूचना पाएलगत्तै हाम्रा सुरक्षाकर्मीहरु स्थानीयलाई सतर्क बनाउन खटिनुभएको थियो। त्यसबेला उहाँहरु समेत बेपत्ता हुनुभएको थियो। नेपाल सरकारबाट लगभग ११ लाख वटा एसएमएस र टेलिफोन कलहरु ती ठाउँहरुमा गरिएको थियो र त्यसको सूचना आधा घण्टा अगाडि नै त्यहाँ बस्नुभएका सम्पूर्णलाई दिइएको कुरा पनि जानकारी गराउन चाहन्छु,’ उनले भने।
उनले उद्धारका लागि विदेशी सहयोग आवश्यकता अनुसार लिएको बताए। अन्तर्राष्ट्रिय मुलुकहरुसँग समन्वय गरेको तथा उक्त प्रक्रिया समेत छोटो गराएर चीन र भारतबाट प्राविधिकहरु ल्याइएको बताए।
‘उहाँहरुले सुरुकै दिनदेखि, पहिलो दिन-दोस्रो दिन पनि रेकी गरिराख्नुभएको थियो। हवाईमार्फत त्यो एरियामा अहिले कस्तो क्षति भएको छ, त्यहाँ पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उहाँहरुले रेकी गरिसकेर, अनुगमन गरेर अहिले तत्काल ओर्लिन सक्ने अवस्था छैन, तुरुन्तै ओर्लिन सक्दैनौँ, जुन बेला ओर्लिन सकिनेछ त्यतिबेला नै भारतको अथवा चीनको टेक्निसियनहरु, नेपाली टेक्निसियन, आर्मी उहाँहरु चाहिँ पुग्ने अवस्था भएपछि मात्रै पुग्नुभएको हो,’ उनले भने।
सुरुङमा फसेको विषय विश्वमै भिन्न भएको शाहको भनाइ छ। उनले विश्वभरि टनेलमा हुने घटनाभन्दा नेपालको घटना फरक रहेको बताए।
‘कुनै विपद् आउँदाखेरि विश्वभरि पाइने एक्सपर्टहरु चाहिँ टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने एक्सपर्टिज चाहिँ विश्वभरि नै रहेको छ। तर यो चाहिँ फरक किसिमको किन हो भन्दाखेरि, यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन। यो बाढी भित्र पसेर बाढीसहित सँगसँगै हिलो, माटोहरुले पूर्ण रूपमा थुनिएका टनेलहरु हुन्,’ उनले भने।










