चितवन को-ई ग्रुपले बाढीपीडितको उद्धार तथा पुनर्निर्माणका लागि गर्‍यो डेढ करोड सहयोग



बिजमाण्डू
२०८३ भदौ १७ गते ०७:४२ | Sep 2, 2026
चितवन को-ई ग्रुपले बाढीपीडितको उद्धार तथा पुनर्निर्माणका लागि गर्‍यो डेढ करोड सहयोग


काठमाडौं। चितवन को-ई ग्रुपले भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

ग्रुपले संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठको समाजसेवाको आदर्शलाई पछ्याउँदै उक्त सहयोग गरिएको जनाएको छ।

सहयोग रकममध्ये मनकामना दर्शन प्रालि (केबुलकार)ले १ करोड २५ लाख रुपैयाँ दिएको छ। त्यस्तै, चितवन मिल्क लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेको छ।

कुल १ करोड ५० लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। चेक हस्तान्तरण कार्यक्रममा ग्रुपका सञ्चालक राजू बाबु श्रेष्ठ, रोशन श्रेष्ठ र राजेश बाबु श्रेष्ठ उपस्थित थिए।

त्यसैगरी, व्यवसायमा सक्रिय तेस्रो पुस्ताका येसु श्रेष्ठ, मोहिनी श्रेष्ठ र रिया श्रेष्ठ पनि कार्यक्रममा सहभागी थिए। ग्रुपले विपद्का बेला राज्य र प्रभावित समुदायलाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

ग्रुपले यसअघि २०७२ सालको भूकम्पमा पनि गोरखाका पूर्वी क्षेत्रका ९/१० गाविसमा राहत वितरण गरेको थियो। त्यतिबेला खाद्यान्न, त्रिपाल र स्वास्थ्य सामग्रीसहित आवश्यक सहयोग उपलब्ध गराइएको थियो।

संस्थापक श्रेष्ठकै इच्छाअनुसार धर्म तथा संस्कृतिको संरक्षणमा पनि ग्रुपले योगदान गर्दै आएको छ। पोखरास्थित विन्ध्यवासिनी मन्दिरको मुख्य प्रवेशद्वार निर्माणका लागि ग्रुपले १ करोड रुपैयाँ सहयोग गरेको छ।

आफ्नो कमाइको केही हिस्सा राष्ट्र निर्माण र समाजसेवामा लगाउने संस्थापकको संकल्पलाई ग्रुपले निरन्तरता दिएको जनाएको छ। पछिल्लो सहयोग पनि सोही सामाजिक उत्तरदायित्वको निरन्तरता भएको ग्रुपको भनाइ छ।