मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु, व्यापारीले बगैंचामै बैनाबट्टा गरेसँगै ढुवानीको तरखर



बिजमाण्डू
२०८३ भदौ १६ गते १०:०६ | Sep 1, 2026
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु, व्यापारीले बगैंचामै बैनाबट्टा गरेसँगै ढुवानीको तरखर


मुस्ताङ। छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरु भएको छ। जिल्लास्थित सरोकारवाला निकायहरुले छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकेसँगै किसान तथा व्यापारीले धमाधम टिप्न सुरु गरेका हुन्। स्याउ टििप्ने काम थाल्नुअघि नै धेरैजसो बगैंचामा व्यापारी आएर बैनाबट्टा गरिसकेका छन्।

Vigo
GBIME
Tata

जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण बेलामा गर्ने जनाउँदै जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरुको रोहबरमा मुस्ताङमा छिटो पाक्ने र ढिलो पाक्ने स्याउको टिपाइ कार्यतालिका सार्वजनिक गरेका थिए।

यहाँ फल्ने स्याउको गुणस्तर राम्रो हुने तथा बजारको मागसमेत पूर्ति हुने र स्याउको ख्याति राम्रो हुने र स्याउमा गुलियोपना हुनु पर्ने जोड दिदै छिटो पाक्ने स्याउ यही भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न पाइने निर्णय गरिएको थियो।

कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा. लालमणि अर्यालले जिल्लामा छिटो पाक्ने स्याउ सोमबारदेखि टिप्न सुरु भएको बताए। उनका अनुसार मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा छिटो पाक्ने ‘अर्लि भेराइटी’का गाला र गोल्डेन जातको स्याउ टिपाइ सुरु भएको हो।

कार्यालय प्रमुख अर्यालयका अनुसार उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड) जातको गाला र गोल्डेन स्याउको धमाधममा कृषकको बगैंचाहरुमा ‘पोस्ट हार्भेस्ट’ भइरहेको छ। जिल्लामा उत्पादित छिटो पाक्ने स्याउ हरितालिका तीज पर्वलाई लक्षित गरी कृषक तथा व्यापारीहरुले स्याउ टिप्न सुरु गरेको कार्यालय प्रमुख अर्यालको भनाइ छ।

किसान भीम गुरुङको स्याउ बगैंचामा पनि छिटो पाक्ने जातको स्याउ टिपाइ सुरु गरेको ग्रीन मुक्ति कृषि तथा पशुपन्छी विकास फार्मका व्यवस्थापक राम तामाङले जानकारी दिए। जिल्लास्तरीय बोर्ड बैठकको स्याउ टिप्ने कार्यतालिकाअनुसार आफूहरुको फार्ममा स्याउको पोस्ट हार्भेस्ट तथा स्याउ ढुवानी गरी काठमाडौं पुर्‍याउने तयारी भइरहेको उनले बताए।

किसान गुरुङको बगैँचामा स्याउ टिप्ने, क्रेटमा राखेर स्टोरमा पुर्‍याउने, ग्रेडिङ, नापतौल र प्याकेजिङसँगै गाडीमा लोड गर्ने कामका लागि करिब तीन दर्जन कामदार परिचालित छन्। व्यवस्थापक तामाङले ४० रोपनीमा उत्पादन भएको हाइब्रिड छिटो पाक्ने स्याउ हार्भेस्ट गरी दुईदिन भित्र काठमाडौँ पुर्‍याउने योजना रहेको बताए।

उच्चघनत्वको हाइब्रिड स्याउको टिपाइ सुरु भए पनि स्थानीय जातको लोकल स्याउ भदौपछि मात्रै टिपिने उनले जानकारी दिए।

यसैगरी घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मको स्याउ टिप्ने योजना रहेकोमा काठमाडौँ पुर्‍याउने सडक अवरुद्ध भएकाले केही दिनपछि मात्रै टिपाइ सुरु गर्ने योजना रहेको व्यवस्थापक आइतराम तामाङले जानकारी दिए। फार्ममा फलेका छिटो र ढिलो पाक्ने सबै स्याउ काठमाडौंकै बजारमा पठाउने योजना छ।

यहाँका बगैंचामा स्याउ लटरम्म छन्। टिपाइ सिजन सुरु भएसँगै मुस्ताङमा व्यापारीको चहलपहल छ। साउनअगावै किसानको बगैँचामा आएर बैनापट्टा गरिसकेका व्यापारी यतिबेला ढुवानीका लागि स्याउ संकलन गर्न पुनः मुस्ताङ आउने गर्छन्।

जिल्लामा गत वर्ष करिब ९० करोड बढीको स्याउ उत्पादन भएको थियो। कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार गत वर्ष मुस्ताङमा उत्पादित स्याउमध्ये ८० प्रतिशत जिल्ला बाहिर बिक्रीका लागि पुगेको थियो। २० प्रतिशत स्याउ जिल्लामै खपत भएको थियो।

मुस्ताङमा करिब एक हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउखेती छ। पछिल्लो समय छिटो र धेरै फल्ने हाइब्रिड स्याउको खेतीतर्फ किसान आकर्षित छन्। रासस