बाढीले ध्वस्त गल्छी-बेत्रावती सडक खुलाउन धमाधम काम, बेलीब्रिज हाल्न भने समय लाग्ने



शुक्र गिरी
२०८३ भदौ १५ गते १७:४७ | Aug 31, 2026
बाढीले ध्वस्त गल्छी-बेत्रावती सडक खुलाउन धमाधम काम, बेलीब्रिज हाल्न भने समय लाग्ने


काठमाडौं। भदौ १० गतेको बाढीले ध्वस्त सडक खुलाउन धमाधम काम अगाडि बढाइएको छ। सडक विभाग अन्तर्गतको टोलीले गल्छीदेखि बेत्रावतीसम्मको सडक खुलाउन धमाधम काम अगाडि बढाएको हो।

Vigo
GBIME
Tata

टोलीले गल्छीदेखि ढुंगेबजार, बेत्रावती हुँदै धुन्चेसम्मको सडक खुलाउन काम गरिरहेको छ। गल्छीदेखि देवीघाटसम्मको सडक खुलाउन दैनिक ४/५ वटा स्काभेटर परिचालन गरिएको छ।

यस्तै विदुरदेखि बेत्रावतीसम्मको २० किलोमिटर सडकमध्ये ६ किलोमिटर सवारीसाधन चलाउन सक्ने बनाइएको छ। ४ किलोमिटर सडक भने बाढीले ‘वास-आउट’ गरेको छ।

‘हामीले गल्छीबाट १२ किलोमिटरसम्म लेदो निकाल्ने काम गरिरहेका छौं। यो खण्डमा सडक बिग्रिएको छैन। त्यहाँबाट २० किलोमिटर पर देवीघाट बजारमा तादी खोला पुल बगाएको छ। त्यहाँ बेलीब्रिज हाल्ने तयारी भइरहेको छ,’ सडक डिभिजन नुवाकोटका प्रमुख बद्रीप्रसाद शर्माले भने।

उनका अनुसार गल्छीदेखि देवीघाटसम्म लेदो हटाउने काम एक दुई दिनमा सकिन्छ। त्यसपछि बेलीब्रिज हाल्न १०/१५ दिन लाग्ने शर्माले बताए।

ढुंगेबजारदेखि गेर्खुटारसम्मको बाटो खुलिसकेको छ। गेर्खुटार बाढीले क्षतविक्षत बनाएको ढुंगेबजारबाट ३ किलोमिटर पर हो।

गेर्खुटारबाट बेत्रावती जाने ४ किलोमिटर सडक भने पूरै बगाएका कारण भित्तो काटेर तथा तलबाट उठाएर नयाँ ट्रयाक खोल्ने काम भइरहेको शर्माले जानकारी दिए। उनका अनुसार गेर्खुटार-बेत्रावती खण्डमा ६/७ वटा डोजर/एस्काभेटर परिचालन गरिएको छ।

‘यो सडक खुलाउन २/३ दिन लाग्ने देखिन्छ। बेलिब्रिज समयमा हाल्ने वातावरण भएमा रोड कनेक्टीभिटी गल्छी र धुन्चेसम्म केही दिनमा हुन्छ। तर बेलिब्रिज हाल्न सोचे जस्तो सहज छैन,’ उनले भने।

बेलीब्रिज हाल्न समय लाग्ने

बेलीब्रिज हाल्नुपर्ने भएकाले गल्छीलाई त्रिशुलीको विदुर बजारसँग जोड्न भने समय लाग्ने भएको छ। तर, टोखा छहरे हुँदै विदुरबाट बेत्रावतीसम्म भने केही दिनमा सडक संचालनमा आउनेछ।

बेलीब्रिज हालेपछि मात्रै गल्छीसँग नुवाकोट र रसुवा जोडिने छन्। सडक विभागको पुल महाशाखाले देवीघाटको तादी खोला पुलमा बेलीब्रिजलाई पहिलो प्राथमिकतामा राखेको छ। यहाँ बेलीब्रिज हालेपछि गल्छीदेखि बेत्रावतीसम्म सडक संजाल जोडिनेछ।

पुल महाशाखाका डिजाइन तथा अनुगमन शाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सौरभ बज्राचार्यका अनुसार अहिले कुन स्थानमा कति लामो बेलब्रिज सेट गर्ने भन्ने कुराको एसेसमेन्ट गरिंदैछ। ठाउँ र खोलाको बहाव हेरेर कति लामो पुल आवश्यक पर्छ भन्ने यकिन गरेर मात्रै बेलीब्रिज सेट गर्ने बज्राचार्यले बताए।

बज्राचार्यका अनुसार अहिले विभागसँग जम्मा ४८ मिटर लामो बेलीब्रिज छ।

अहिले खोलाले वारि र पारि बाँकी राखेको स्ट्रक्चरमा ४८ मिटरले पुग्छ पुग्दैन भन्ने हेरिरहेका छौं। मलेखुनिर ११० मिटर लामो आवश्यक छ,’ बज्राचार्यले भने, ‘देवीघाटमा भने ४८ मिटरले पुग्छ।

भारतबाट ४ वटा बेलीब्रिज आएको छ भने ७० मिटर सेट भएका ६ वटा आउन बाँकी छ। ‘सबैकुरा हेरेर ७-१० दिनभित्र बेलीब्रिज हाल्न सक्छौं,’ बज्राचार्यले भने।