बुटवल-पोखरा सडक स्तरोन्नतिको प्रक्रिया अगाडि बढ्यो, डीपीआर बनाउन परामर्शदाताको खोजी

बिजमाण्डू
२०८३ भदौ १५ गते ११:३४ | Aug 31, 2026
बुटवल-पोखरा सडक स्तरोन्नतिको प्रक्रिया अगाडि बढ्यो, डीपीआर बनाउन परामर्शदाताको खोजी


काठमाडौं। सरकारले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को आर्थिक सहयोगमा सिद्धार्थ राजमार्गको बुटवल-पोखरा खण्ड स्तरोन्नति परियोजना अगाडि बढाएको छ।

GBIME
Tata

यसका लागि सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न योग्य परामर्शदाता कम्पनीसँग आशयपत्र आह्वान गरेको हो। महाशाखाले २३ दिनको समय दिएर डीपीआरका लागि ठेक्का आह्वान गरेको हो।

बुटवलको गोलपार्कबाट सुरु भई पोखराको लालनचोकसम्मको यो खण्डको कुल लम्बाइ १५७ किलोमिटर छ। यो खण्डमा धेरै घुम्ती, १० देखि १२ प्रतिशतसम्मको उच्च ग्रेड र ५.५ मिटर मात्र चौडाइ छ।

यो खण्डलाई दुई लेनको उच्च मापदण्डमा स्तरोन्नति गर्ने तयारी गरिएको छ।

यो सडक खण्ड कसरी बनाउने भन्ने विषयमा दुईवटा मोडलमा बहस चलिरहेको छ- एउटा ठूलो लगानीमा सुरुङमार्ग र भायडक्ट पुल बनाएर दूरी धेरै नै छोट्याउने ‘फास्ट ट्र्याक’ (द्रुतमार्ग) मोडल र अर्को कम लागतमा साविककै रुटमा मोड सुधार गर्ने मोडल।

छनोट हुने परामर्शदाता कम्पनीले सम्भाव्यता अध्ययनका साथै विस्तृत इन्जिनियरिङ डिजाइन, संस्थागत सुदृढीकरण तथा क्षमता विकास, खरिद रणनीति तथा ठेक्का कागजात तयार पार्ने र वातावरणीय तथा सामाजिक प्रभाव मूल्यांकन लगायत काम गर्नुपर्नेछ।