काठमाडौं। बाढीमा परेकाहरूमध्ये १ हजार ५४५ जनाको सुरक्षाकर्मीले उद्धार गरेका छन्। नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले हालसम्म रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङमा ३ जनाको उद्धार गरिएको जानकारी दिए।
नेपाली सेनाले शुक्रबार बिहान जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये दुई जनालाई सकुसल उद्धार गरेको छ।
काफ्लेका अनुसार बाढीमा परी घाइते भएका भएकामध्ये ६० जनाको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा ३१, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, वीरेन्द्र सैनिक अस्पतालमा १, नर्भिक अस्पतालमा १, मनमोहन अस्पतालमा २, बीएण्डबी अस्पतालमा २ र ग्राण्डी अस्पतालमा १ जनाको उपचार भइरहेको हो।
बाढीमा परी हालसम्म नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरीका १३, सर्वसाधारणसहित २ हजार ३८१ जना सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ।
सम्पर्कविहीन हुनेमा १७८ भारतीयसहित ६४४ विदेशी नागरिक छन्।
बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ। प्रहरीका अनुसार हालसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, तनहुँमा २८, चितवनमा १७८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।










