काठमाडौं । आज बिहान आएको बाढीमा राहत र उद्धारका लागि काठमाडौं महानगरपालिकाले संचालन गरेका ४ वटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइएको छ।
भोटेकोसी नदीमा आएको आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी लगायत रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ।
त्यसपछि महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले आफ्नो भूमिका र तयारीका विषयमा छलफल गरेको हो।
बैठकले प्रतिकार्य सञ्चालन गर्ने, समन्वय र सहजीकरणका लागि समितिका सदस्यसचिव एवम् विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई तोक्ने निर्णय गरेको छ।
महानगरपालिकाले संचालन गरेका ४ वटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइउने र दुई वटा एम्बुलेन्स त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै, काठमाडौं महानगरपालिका अन्तर्गत कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुलाई विपद क्षेत्रमा परिचालन गर्ने र घाइते बिरामीहरुका लागि आवश्ययकता अनुसार औषधि उपलब्य गराउने समितिले निर्णय गरेको छ।
महानगरपालिका आपतकालीन सञ्चालन केन्द्रमा मौज्दात रहेको विपद व्यवस्थापनमा प्रयोग हुने सामग्रीहरु आवश्यकता अनुसार प्रदान गरिने जनाइएको छ। सामान तथा औषधि अपुग हुने देखिएमा विपद व्यवस्थापन कोषबाट खरिद गरेर उपलव्ध गराउने समितिले निर्णय गरेको छ।










