काठमाडौं । आन्तरिक राजस्व विभागले कर प्रणालीलाई थप सुधार गरेको छ। पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन प्राविधिक सुधार थप गर्दै गएको विभागका निर्देशक केशव रघुवंशीले जानकारी दिए।
आजदेखि संचालनमा ल्याइएको ‘न्यू ट्याक्सप्यर पोर्टल’ मार्फत भ्याट विवरण सच्याउन पनि मिल्ने भएको हो। यसअघि भ्याट विवरण भर्दा सामान्य त्रुटि भए सच्याउनका लागि सम्बन्धित कर कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो।
अब भने ७ दिनभित्र भ्याट विवरण सच्याउन मिल्ने भएको छ। स्रोतमा कर कट्टी (ईटीडीएस) गर्ने प्रक्रियालाई नयाँ पोर्टलले थप व्यवस्थित बनाएको छ। अबदेखि हरेक महिना इटिडिएस गर्नुपर्ने भएको छ।
आजदेखि ‘न्यू ट्याक्सप्यर पोर्टल’ संचालनमा आए पनि यसमा भएका सबै प्राविधिक विषय भने एक महिनाभित्र पूर्ण संचालन आउनेछ।
नयाँ पोर्टलमा प्यान, भ्याट, अन्त:शुल्कलगायत सबै प्रकारका राजस्वका सुविधा राखिएको छ। यो सेवा उपयोग गर्नका लागि विभागको वेबसाइट लगिन गरी इ-सर्भिस हुँदै त्यहाँभित्र रहेको ‘न्यू ट्याक्सप्यर पोर्टल’मा जान सकिन्छ।










