बाटो बनेपछि तातोपानी भन्सारमा रोकिएको सामान आउन थाले, आयात अझै अनिश्चित



बिजमाण्डू
२०८३ भदौ ८ गते १५:५४ | Aug 24, 2026
बाटो बनेपछि तातोपानी भन्सारमा रोकिएको सामान आउन थाले, आयात अझै अनिश्चित


काठमाडौं । तातोपानी भन्सार कार्यालयमा रोकिएका सामान उपत्यका भित्रिन थालेका छन्। भन्सार देखि सिन्धुपाल्चोकको विभिन्न ठाउँमा पहिरो गएर बाटो अवरुद्ध भए पछि केही समयदेखि आयात गरिएका सामान त्यहीँ रोकिएका थिए।

Vigo
GBIME
Tata

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्र प्रकाश गिरीले लामो समयदेखि रोकिएको सामानहरु उपत्यका जान थालेको जानकारी दिने। उपत्यका जाने बाटोमा पहिरोले अवरुद्ध भएपछि आयात भएको सामान भन्सारमा रोकिएको थियो।

‘यतिबेला बाटो बनेर भन्सारमा रोकिएका करिब २० भन्दा बढी कन्टेनर सामान पठाइएको छ,’ उनले भने, ‘३ दिनदेखि पानी नपरेर बाटो मर्मत गर्न सजिलो भएको थियो। यतिबेला कोदारी इको पहिरोमा बाटो बनाउने काम तीव्र गतिमा भइरहेको छ।’

चाडपर्व नजिकिँदै गरेको बेला तातोपानी नाकाबाट आयात सहज बनाउन सबै लागिपरेका उनी बताउँछन्।

‘पानी नपरे अबको २/४ दिन भित्र आयात सुरु हुन्छ,’ गिरीले बताए।

तातोपानी नाकामा गत साउन १ गतेदेखि आयात ठप्प छ। व्यवसायीहरुले तातोपानी नाका संचालन भए चाडपर्व लक्षित चिनियाँ सामान आयात गर्न सहज हुने बताइरहेका छन्।

गत असारसम्म तातोपानी नाकाबाट दैनिक १२ भन्दा बढी कन्टेनरमा सामान आयात भइरहेको थियो। तर, साउन यता लगातारको पानीले पहिरो गएपछि तातोपानी नाका र भन्सारबाट उपत्यका आउने बाटो बन्द भएको थियो। त्यसपछि सो सडक हुँदै सामान आएको थिएन्।

तातोपानी नाकाबाट फलफूल, रेडिमेड कपडा लगायतका सामानहरु आयात भइरहेको छ।