काठमाडौं । सन् २०१९ को डिसेम्बरमा काठमाडौंमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भयो। त्यहाँबाट अर्को संस्करण गर्ने भनेर पाकिस्तानले झण्डा लियो। ७ वर्ष बितिसक्दा पटकपटक मितिहरु तोकिए। तर, ती समयमा प्रतियोगिता हुनै सकेनन्।
२०२१ मा हुनुपर्ने १४ औँ संस्करणको साग अहिलेसम्म हुन सकेको छैन। कारण हो – भारत र पाकिस्तानबीचको सम्बन्ध।
पाकिस्तानको इस्लामाबादमा दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) बैठक आइतबार बस्यो। बैठकले १४ औं दक्षिण एसियाली खेलकुद २०८३ साल चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ। यो प्रतियोगितामा २८ खेल सहभागी हुने कमिटीले जनाएको छ।
खेलकुदको मिति र समावेश गरिने खेलहरू पाकिस्तानको इस्लामाबादमा बसेको एसओसीको कार्यकारी समिति बैठकले टुंगो लगाएको हो। जति पटक टुंगो लगाए पनि भारत र पाकिस्तानको लफडा नसुल्झिउन्जेल साग हुने सम्भावना भने न्यून रहन्छ।
यसपटकको बैठकमा भने एसएओसीको परिदृश्य फरक देखियो। इलस्लामावादमा भएको बैठकमा भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषासहित तीन जनाको सहभागिता थियो। उनीहरु भर्चुअल माध्यमबाट जोडिएका थिए।

बैठकबारे भारतीय ओलम्पिक कमिटीले हालसम्म कुनै आधिकारिक विज्ञप्ति निकालेको छैन।
सो बैठकमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सिक्का सुवाल सहभागी थिए।
यस संस्करणमा कुल २८ खेल समावेश गरिएको छ। एथलेटिक्स, पौडी, तीरन्दाजी, ब्याडमिन्टन, बास्केटबल, बिलियर्ड्स तथा स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल तथा बिच ह्यान्डबल, जुडो, हक्की, कबड्डी, कराते, रोइङ, रग्बी, सुटिङ, स्क्वास, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल तथा बिच भलिबल, भारोत्तोलन, कुस्ती र उसु खेलमा प्रतिस्पर्धा हुनेछ।

मोदी/शाहलाई भेटेर बैठकमा उषा
भारतीय पक्षबाट उषाले केही हप्ताको बीचमै प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई भेटेको देखिन्छ। त्यसलाई कमन वेल्थ गेम्सका लागि भेटघाटको रुपमा प्रचार गरिएको थियो। तर, पाकिस्तानमा हुने साग बारेको छलफलमा उषाको सहभागितापछि अबको प्रतियोगितामा भारत सहभागी हुने नहुने बारे अहिले चर्चा थालेको छ। मोदी र शाहबीचको भेटमा उषाले बैठकमा सहभागिताका लागि ग्रीन सिग्नल नपाइ बैठकमा सहभागी हुने अवस्था छैन।
पछिल्लो पटक पहलगाम हमला र भारतको अप्रेसन सिन्दुरपछि भारत-पाकिस्तानको सम्बन्ध धेरै चिसिएको छ। क्रिकेटमा पनि एकअर्काको देशमा नजाने र खेल्नै परे ‘न्युट्रल भेन्यु’मा मात्र यी देशका टोलीहरु आमनेसामने हुने गरेका छन्।
पाकिस्तानी संचारमाध्यम डनका अनुसार इस्लामावादमा भएको बैठकमा पाकिस्तानका तीन शहर इस्लामाबाद, लाहोर र पेशावरमा प्रतियोगिता गर्ने निर्णय भएको थियो। पाकिस्तान पुगेका नेपाललगायत देशका डेलिगेटले खेल हुने स्थानहरुको निरीक्षणसमेत गरेका थिए। डनले स्रोतको हवाला दिँदै भारत अब हुने प्रतियोगितामा सहभागी हुन मनसायमा रहेको जनाएको छ।
तर, भारतले यसबारेमा औपचारिक प्रतिक्रिया दिएको छैन। जसकारण उनको इस्लामावाद यात्रा अझै शंकाको घेरमा छ। भारतीय संचारमाध्यमहरुले भने सो बैठकलाई प्राथमिकता दिएका छैनन्। केही संचारमाध्यमले भारतका लागि इस्लामावाद जाने निर्णय गर्नु सहज नहुने टिप्पणी गरिरहेका छन्।
१४औँ सागको नारा ‘दक्षिण एसियामा एकता, खेलकुदमा शक्ति’ राखिएको छ। ‘एक भावना, एक क्षेत्र, एक दृष्टिकोण’ को भावनासहित दक्षिण एसियाली खेलकुद समुदायलाई एकै स्थानमा जोड्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। तर, दुई देशबीचको कटुतापूर्ण सम्बन्धका कारण क्षेत्रीय एकतामा ठूलो चुनौती देखिएको छ।











