काठमाडौं। फिफा विश्वकप सकिएसँगै अहिले विश्वभर क्लब फुटबलको तयारी चलिरहेको छ। केही लिग सुरु भइसके भने केही सुरु हुने क्रममा छन्।
क्लबहरूको ध्यान यतिबेला खेलाडी ट्रान्सफरमा छ। सेप्टेम्बर १ सम्म ट्रान्सफर विन्डो खुला रहेकाले खेलाडी ल्याएर टिम बलियो बनाउने ध्याउन्ना सबै क्लबको छ।
यसपाला मोर्गन रोजर्स, एलियन एण्डर्सन, यान डायोमान्डेल, सान्द्रो टोनटालीजस्ता खेलाडी महँगो मूल्यमा ट्रान्सफर भए। त्यस्तै, केही निकै चर्चित खेलाडीले पनि आफ्नो क्लब छाडे। जसमा विश्वकप विजेता स्पेनका कप्तान रोड्रीदेखि लिभरपुलका मोहम्मद सलाह, विश्वकपका नायक भोजिन्हासम्म छन्।
मोर्गन रोजर्स
इङ्ग्ल्याण्डका स्ट्राइकर मोर्गन रोजर्स यसपाला कीर्तिमानी मूल्यमा ट्रान्सफर भएका छन्। महँगो मूल्यमा चेल्सीले उनलाई एस्टन भिल्लाबाट किनेको हो। उनलाई लिन चेल्सीले ११७ मिलियन पाउन्ड (साढे २४ अर्ब रुपैयाँ) खर्चियो।
यो ट्रान्सफरसँगै उनी इङ्ग्ल्याण्डका सबैभन्दा महँगा खेलाडी बनेका छन्। उनले सन् २०३३ सम्मका लागि लामो सम्झौता गरेका हुन्।
एस्टन भिल्लामा उत्कृष्ट प्रदर्शन र प्रिमियर लिगमा देखिएको जादुई खेलका कारण उनी यतिबेला युरोपभरका ठूला क्लबहरूको नजरमा परेका थिए। जसलाई अन्ततः चेल्सीले भित्र्याउन सफल भयो।
एलियट एण्डर्सन
यसपाला महँगो मूल्यमा ट्रान्सफर हुने अर्का खेलाडी रहे एलियन एण्डरसन्। उनलाई नटिङ्घम फरेस्टबाट ल्याउन म्यानचेस्टर सिटीले ११६ मिलियन पाउण्ड (२४ अर्ब रुपैयाँ) खर्चियो।
इङ्ग्ल्याण्डका यी मिडफिल्डरले नटिङघममा २०२४ देखि २०२६ सम्म खेले। त्यसअघि उनी न्युक्यासल युनाइटेडमा थिए।
मोहम्मद सलाह
इटलीको ‘सिरि ए’बाट इङ्ग्लिस प्रिमियर लिग आएर मोहम्मद सलाहले ९ सिजन बिताए। यो अवधिमा टोलीलाई प्रिमियर लिगदेखि च्याम्पियन्स लिगसम्मको उपाधि दिलाउन सफल उनी यसपाला टर्कीको क्लब ट्राब्जोनस्पोरमा पुगे।
लिभरपुलसँग करार सकिएकाले फ्रि ट्रान्सफरमा टर्की पुगेका उनको सम्झौता अरुको जस्तो सिधासिधा भने छैन। इजिप्टको विश्वकपमा दमदार प्रदर्शनमा उनको महत्त्वपूर्ण योगदान थियो।
टर्किस फुटबल लिगको इतिहासमा भने सबैभन्दा धेरै रकम पाउने खेलाडी उनी नै बनेका छन्। उनले टर्कीमा १७ मिलियन युरो कमाउने छन्।
यसमा १० मिलियन बेसिक र ७ मिलियन साइनिङ बोनस छ। त्यस्तै, सम्झौता अनुसार उनको नामबाट बिक्रि हुने मर्चेन्डाइचमा पनि २० प्रतिशत रकम हात पार्नेछन्।
रोड्री
विश्वकप विजेता स्पेनका कप्तान रोड्री यसपाला ला लिगामा पुगे। विश्वकपको उत्कृष्ट खेलाडी बन्दै गोल्डन बल जितेका उनले बार्सिलोनासँग ४ वर्षे सम्झौता गरेका छन्। उनी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेका हुन्।
उनलाई लिन बार्सिलोनाले म्यानचेस्टर सिटीसँग ६५.४ मिलियन पाउन्डको बिड गरेको थियो। बार्सिलोनासँग उनले ४ वर्षको डिल गरेका छन्।
उनी सन् २०१९ मा त्यसबेलाको कीर्तिमानी मूल्य ६२.८ मिलियन पाउन्डमा एटलेटिको मड्रिडबाट म्यानचेस्टर सिटी पुगेका थिए।
मैदानमा उनी ‘मास्टर माइन्ड’ खेलाडीका रुपमा चिनिन्छन्। उनी डिफेन्स र मिडफिल्डको बीचमा रहेर आक्रमण बुन्न माहिर छन्।
त्यस्तै, पास एक्युरेसीमा पनि उनको तथ्यांक निक्कै राम्रो छ। डिफेन्सिभ मिडफिल्डरका रुपमा उनी विपक्षीको आक्रमण रोक्नदेखि चाहिएको ठाउँमा पास पुर्याउन निकै चतुर छन्।
रोबर्ट लेवान्डोस्की
बार्सिलोनाबाट अमेरिकी लिगमा जाने खेलाडीको लामो सूचीमा गएको महिना थपिए- रोबर्ट लेवान्डोस्की। पोल्याण्डले यसपाला विश्वकप नखेलेकाले उनी मैदानमा देखिएका थिएनन्।
उनी स्पेनिस क्लब बार्सिलोनाबाट फ्रि ट्रान्सफरमा अमेरिकन लिगको सिकागो फायर एफसीमा पुगेका छन्। अमेरिका जानुअघि उनीमाथि इटलीको एसीमिलानसँगै साउदी प्रो लिगका क्लबले पनि भित्र्याउन चाहेका थिए।
३८ वर्षे लेवान्डोस्की १७ मिलियन अमेरिकी डलरमा अमेरिका पुगेका हुन्। त्यहाँ उनले सन् २०२८ सम्मका लागि करार गरेका हुन्।
यसपाला ट्रान्सफर हुने चर्चित नाममध्ये उनी एक हुन्। असाधारण गोल क्षमताका कारण उनलाई ‘क्लासिक नम्बर ९’ भनेर पनि चिन्ने गरिन्छ।
पेनाल्टीसँगै क्रसहरूमा उनी हेडरमार्फत गोल गर्न प्रभावशाली रहने गरेका छन्। उनी आफ्नो शारीरिक फिटनेस र कडा अनुशासन पालना गर्ने खेलाडीको रूपमा चिनिन्छन्। यही कारणले गर्दा ३८ वर्षको उमेरमा पनि उनी शीर्ष स्तरमा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
मार्क कुकुरेला
मार्क कुकुरेला इङ्ग्लिस क्लब चेल्सीबाट स्पेनको रियल मड्रिड पुगेका छन्। उनलाई भित्र्याउन मड्रिडले ५१.८ मिलियन पाउण्ड (करिब ११ अर्ब रुपैयाँ) खर्चियो।
चारवर्ष अघि उनी ब्राइटोनबाट ६३ मिलियन पाउन्डमा चेल्सी पुगेका थिए। उनी र मड्रिडबीच ६ वर्षको सम्झौता भएको छ।
२७ वर्षे स्पेनी लेफ्ट ब्याक कुकुरेला गएको विश्वकप र युरो कपमा आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिकामा थिए।
उनी मुख्यतया लेफ्ट-ब्याक भए पनि आवश्यकता अनुसार लेफ्ट विङ्गर, विङ्ग-ब्याक वा डिफेन्सिभ मिडफिल्डमा समेत उत्तिकै उत्कृष्ट खेल्न सक्छन्। उनी केवल डिफेन्स मात्र सम्हाल्दैनन्, विपक्षीको पेनाल्टी बक्ससम्म अगाडि बढेर क्रस निकाल्ने र टिमका लागि आक्रमण बुन्न सहयोग गर्ने गर्दछन्।
भोजिन्हा
फिफा विश्वकप २०२६ बाट एकाएक चर्चामा आएका खेलाडी हुन भोजिन्हा।
विश्वकप खेल्दा उनी कुनै पनि क्लबमा थिएनन्। विश्वकपमा भने एकपछि अर्को हेभिवेट टिमविरुद्ध सानदार प्रदर्शन गरेर उनी चर्चामा आए।
विश्वकपपछि भने उनी अमेरिकी फुटबलदेखि विभिन्न देशका लिगमा जाने चर्चा चल्यो। अन्तत: उनी चिलीको क्लब कोलोकोलो पुगे।
अगाडिको क्लबसँगको करार सकिइसकेकाले उनी फ्रि एजेन्टका रुपमा कोलोकोलो पुगे। उनको अनुबन्धन रकम ठ्याक्कै खुलाइएको छैन।
केही सञ्चारमाध्यमले साढे ७ लाख युरोको प्याकेजमा एक वर्षका लागि उनी चिली पुगेको दाबी गरेका छन्। उनलाई एडिडासले प्रायोजन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर, यसको औपचारिक घोषणा भएको छैन।









